काठमाडौं । ताइवान तनावबिच भारतलाई लिएर चीनको पहिलो कडा बयान आएको छ ।

अमेरिकी प्रतिनिधि सभाकी सभामुख न्यान्सी पेलोसीको ताइवान भ्रमणपछि पहिलो पटक भारतका लागि चिनियाँ राजदूत सुन वेइडोङको टिप्पणी आएको छ ।

शनिबार पत्रकार सम्मेलन गर्दै उनले भारतले ‘एक चीन’ नीतिलाई समर्थन गर्ने आशा व्यक्त गरेका हुन् । वाइडोङको यो भनाइ यस्तो समयमा आएको हो, जब भारतको तर्फबाट यो नीतिमा समर्थन रहेको कुरा दोहोर्‍याउनुपर्ने आवश्यकता नरहेको कुरा स्पष्ट पारिएको छ ।

वेइडोङले भने, ‘एक चीन नीतिप्रति भारतको दृष्टिकोण परिवर्तन भएको छैन भन्ने मलाई विश्वास छ । हामी आशावादी छौं कि भारतले ‘एक चीन सिद्धान्त’ लाई समर्थन गर्न सक्छ ।’

समाचार एजेन्सी पीटीआईका अनुसार वाइडोङले पूर्वी लद्दाखमा भएको गतिरोधबारे दुवै पक्षले वार्ता जारी राख्नुपर्ने बताएका छन् । यसअघि शुक्रबार पत्रकार सम्मेलनमा भारतको परराष्ट्र मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीले ‘एक चीन’ नीतिबारे उल्लेख गरेका थिएनन् ।

उनले ‘सान्दर्भिक’ नीतिमा भारतको अडान सबैलाई थाहा भएको र त्यसलाई दोहोर्‍याउन आवश्यक नरहेको बताएका हुन् । पेलोसीको ताइवान भ्रमणपछि करिब १६० देशले एक चीन नीतिलाई समर्थन गरेको चीनले दाबी गरेको छ ।

चीनले ताइवानलाई आफ्नो प्रान्त मान्छ । भारतले एक चीन नीतिलाई समर्थन गर्‍यो, तर एक दशकभन्दा बढी समयदेखि सार्वजनिक रूपमा वा द्विपक्षीय कागजातहरूमा यो अडान दोहोर्याउने गरेको छैन ।

 

सम्बन्धित खबरहरु