काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरामाथि महाअभियोग लगाउन सिफारिस गर्दै प्रतिनिधि सभाद्वारा गठित महाअभियोग सिफारिस समितिले ९ बुँदे प्रतवेदन बुझाएको छ ।

महाअभियोग लगाउन ९ बुँदे आधार र कारण उल्लेख गरेर सभामुख अग्निप्रसाद सापकोटालाई प्रतिवेदन बुझाइएको हो । दुई बुँदे सुझाव पनि प्रतिवेदनमा समावेश गरिएको छ ।

फागुन २२ मा गठित महाभियोग सिफारिस समितिले आज प्रतिवेदन तयार पारेर बुझाएको हो । सिंहदरबारस्थित संघीय संसद सचिवालयमा प्रतिवेदन बुझाउँदा एमाले र लोसपाका सांसद भने उपस्थित थिएनन् । उनीहरुले महाअभियोग लगाउँने विषयमा आपत्ति जनाएको बुझिएको छ ।

जबरामाथि केही विषयमा अनुसन्धान गर्नुपर्ने प्रतिवेदनमा औंल्याइएको छ । त्यसका लागि यस संसदमा समय अपुग भएकाले अर्को प्रतिनिधिसभाको बैठकमा पेस गरी टुंगो लगाउन सुझाव दिइएको छ ।

त्यस्तै सर्वोच्चको भवन निर्माणमा अनियमितता गरेको र विभिन्न मुद्दामा आर्थिक लेनदेन गरी अकूत सम्पत्ति कमाएको भन्दै अख्तियार र सम्पत्ति शुद्धीकरण विभागमा लेखी पठाउन पनि समितिले सिफारिस गरेको छ ।

महाअभियोग सिफारिस समितिका ११ सदस्यमध्ये प्रतिवेदन पारित गर्न दुईतिहाइ पुगेन । सत्ताधारी ६ सांसद महाअभियोगको पक्षमा उभिएका छन् भने एमाले र लोसपाका गरी ५ सांसदले प्रतिवेदनउपर फरक मत राख्दै असहमति जनाएका छन् । एमालेले ८ बुँदामा ‘नोट अफ डिसेन्ट’ लेखेको छ ।

बैठकपछि समिति सदस्य रहनुभएका एमाले नेता विष्णु पौडेलले प्रमाणहरू अपुरो रहेको र नपाइएको भन्दै महाअभियोगलाई सत्तागठबन्धनले खेलाचीका रुपमा लिएको आरोप लगाउनुभयो ।

उहाँले महाअभियोगलाई ६ महिनासम्म होल्ड गर्नुको कारण, सिफारिस समितिलाई ३ महिना समय नदिनुनको कारण पनि सोध्नुभएको छ । यो सवाल सभामुखसमक्ष पनि आफूहरूले राखेको बताउँदै पौडेलले गठबन्धनका सदस्य र सभामुखबाट चित्तबुझ्दो जवाफ नपाएको बताउनुभयो ।

यस्तो छ ९ बुँदे महाअभियोग

१. बादी नेपाल सरकार र प्रतिवादी रमनकृष्ण (रञ्जन) कोइराला भएको कर्तव्य ज्यान मुद्दामा सजाय घटाइ कानुनको गम्भीर रूपमा उल्लंघन गरेको।

२. संवैधानिक नियुक्ति सम्बन्धी मुद्दालाई सुनुवाइ प्रकियामा नलगी न्यायाधीशले पालना गर्नुपर्ने आचार संहिताको गम्भीर उल्लंघन गरेको।

३. संसद विघटन सम्बन्धी मुद्दामा संलग्न पाँच जना न्यायाधीसलाई महाभियोग लगाइदिन भनी निजले समितिमा बयानका क्रममा भनेको देखिँदा न्यायापालिकाले स्वतन्त्रतापूर्वक गर्नुपर्ने काम नगरी कार्यकारिणीका मानिससँग सल्लाह गर्ने गरेको पुष्टि भई निष्पक्ष रूपमा कार्य सम्पादन गर्ने कार्य क्षमताको अभाव रहेको देखिएको।

४. सार्वजनिक खरिद ऐन, २०६३ र सार्वजनिक खरिद नियमावली, २०६४ बमोजिम सर्वोच्च अदालत भवन निर्माण सम्बन्धी ठेक्कामा अन्तर्राष्ट्रिय बोलपत्र आह्वान नगरी कानुनको गम्भीर उल्लंघन गरेको।

५. संवैधानिक नियुक्ति सम्बन्धी बैठकमा निष्पक्ष भूमिका खेल्न नसकेको।

६. कानुन व्यवसायी, पक्ष लगायतका न्यायका उपभोक्ताले अदालत प्रति विश्वास हुन नसक्ने वातावरण बनाइ न्यायपालिकाको स्वतन्त्रतामाथि प्रश्न चिह्न खडा भएको।

७. कृष्णमान विरूद्ध हंसमान सिंहको मुद्दा, प्रेरणा शाहको मुद्दा, वीरगञ्जको सार्वजनिक पोखरी सम्बन्धी मुद्दा, क्यासिनोको सञ्चालन तथा राजश्व सम्बन्धी मुद्दा, एनसेलको कर छलीको मुद्दा लगायतमा कानुनको व्याख्यामा गम्भीर त्रुटि गरेको देखिएको।

८. निज प्रधानन्यायाधीस नियुक्ति हुनु पूर्व भएको संसदीय सुनुवाइमा गरेका प्रतिबद्धता पूरा गर्न नसकी पदीय जिम्मेवारी र कर्तव्य पूरा गर्न नसकेको।

९. न्याय प्रशासनको अन्तिम जिम्मेवारी लिने संवैधानिक व्यवस्था बमोजिमको कर्तव्य पूरा गर्न नसकेको।

समितिले प्रतिवेदनमा थप दुई सुझाव पनि दिएको छ-

क. उपरोक्त केही विषयमा थप अध्ययन, अनुसन्धान अझै गर्नु पर्ने देखिएको तर यस संसदमा पर्याप्त समय अभाव भएकाले संविधानको धारा १०१ को उपधारा (६) बमोजिम अर्को प्रतिनिधिसभाको बैठकमा पेस गरी टुंगो लगाउनु पर्ने।

ख. आरोप लागेका प्रधानन्यायाधीस चोलेन्द्र जबराले सर्वोच्चको भवन निर्माणमा अनियमितता गरेको र विभिन्न मुद्दामा आर्थिक लेनदेन गरी अकुत सम्पत्ति कमाएको विषयमा थप अध्ययन कार्य अघि बढाउन अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सम्पत्ति शुद्धीकरण विभागमा लेखी पठाउन समेत सिफारिस गरिन्छ।

सम्बन्धित खबरहरु