काठमाडौं । एउटा दृष्यले अधिकांश मानिसलाई रुवाएको छ । मानवता के सकिदै गएको हो ? भन्ने आभास भएको छ । भारत, ओडिशामा एक व्यक्तिको शवलाई दाहसंस्कारका लागि मोटरसाइकलमा लगिएको थियो । किनभने उनका आफन्त र गाउँका मानिसहरूले अन्तिम संस्कार गर्न मानेनन् । मृतकको पोष्टमार्टम अनुसूचित जाति (दलित) ले गरेका थिए ।

इन्डिया टुडेका सुफियानको समाचार अनुसार यो घटना ओडिशाको बरगढ जिल्लाको महुलपाली गाउँको हो । मृतकको नाम मुचुनु सन्डा हो, उनी दैनिक ज्यालादारी मजदुरी गर्थे । मुचुनु सन्डालाई कलेजोको रोग थियो । स्वास्थ्यमा समस्या आएपछि उनलाई उपचारका लागि निजी अस्पतालमा भर्ना गरिएको थियो । तर उपचारका क्रममा उनको मृत्यु भयो ।

त्यसपछि उनको पोष्टमार्टम अस्पताल प्रशासनले गरेको थियो, शुक्रबार २३ सेप्टेम्बरमा एम्बुलेन्सबाट उनको शव गाउँ पुर्याइएको थियो । जानकारी अनुसार मुचुनुको शव आफ्नी गर्भवती श्रीमती, तीन वर्षीया छोरी र वृद्ध आमाको अगाडि थियो । तर मृतकको अन्तिम संस्कार गर्न गाउँ र आफन्त कोही आएनन् ।

शव घण्टौंसम्म घरभित्रै रहे पनि केही समयपछि गाउँपालिकाका प्रधान सुनिल बेहेरा आएर शवलाई मोटरसाइकलमा लैजाने निर्णयमा पुगे । जानकारी अनुसार मृतकका परिवारसँग एम्बुलेन्सका लागि पैसा नभएपछि यसअघि सुनिलले एम्बुलेन्सको पैसा पनि तिरेका थिए ।

इन्डिया टुडेसँग कुरा गर्दै सुनिलले भने, ‘लामो समयदेखि मुचुनुको स्वास्थ्य बिग्रँदै गएको थियो । आपतकालिन कक्षमा सारिएपछि उनको उपचारकै क्रममा मृत्यु भयो । उनको परिवारमा गर्भवती श्रीमती, एक छोरी र एक वृद्ध आमा छन् । त्यसैले हामीले सात हजारदेखि आठ हजार रुपैयाँ जम्मा गर्‍यौं र एम्बुलेन्सको पैसा तिर्यौँ ।’

यस घटनामा अर्को दाबी पनि भइरहेको छ । समाचारका अनुसार सुनिलले तल्लो जातले पोष्टमार्टम गरेका कारण गाउँले र आफन्तले शव अन्तिम संकार नगरेको भन्ने कुरालाई टार्न खोजेका छन् । उनले गाउँमा भएको नियमका कारण दाहसंस्कार नभएको दाबी गरेका छन् ।

सुनिलका अनुसार मृतकको पोष्टमार्टम हुँदा गाउँलेहरु असन्तुष्ट हुन्छन् । त्यही भएर पोष्टमार्टम भइसकेका व्यक्तिको अन्त्येष्टिमा उनीहरू जाँदैनन् ।

उनले भने, ‘मुचुनको परिवारमा पुरुष सदस्य नभएकाले शवलाई मोटरसाइकलमा शवदाह गृह लैजानुपरेको थियो । मैले एम्बुलेन्सका चालक र कर्मचारीलाई शव शवदाहमा लैजान आग्रह गरेँ तर सडकको अवस्था खराब भएकाले एम्बुलेन्स बीचमा रोक्नु परेको थियो ।’ एम्बुलेन्स चालक र कर्मचारीको सहयोगमा अन्तिम संस्कार गरिएको उनले जानकारी गराए ।

 

सम्बन्धित खबरहरु