काठमाडौं । जनयुद्धमा माओवादीहरू दशैं मनाउँदैन्थे । त्यही जनयुद्धका सर्वोच्च कमाण्डर नेकपा माओवादी केन्द्रका अध्यक्ष पुषपकमल दाहाल प्रचण्ड काठमाडौं फर्किएसँगै दशैं मनाउँन थाल्नुभएको छ ।

उहाँले आफ्नो परिवारलाई टीका र जमरा लगाईदिएर आशीर्वाद दिने गर्नुहुन्छ । यो पटकको दशैंमापनि उहाँले परिवार सबैलाई टीका लगाईदिनुभयो ।

प्रचण्डले शान्ति प्रक्रियामा आइसकेपछि परिवारमा दशैं मनाउन थाल्नुभएको देखिन्छ । शान्ति प्रक्रियापछि बुबा मुक्तिराम दाहालसँग प्रचण्डले दशैं मनाउनुभएको थियो । बुबाको निधनपछि भने उहाँ आफूले टीका लगाएको देखिन्न । प्रचण्डले एकमात्र छोरा प्रकाश र एक छोरी पनि गुमाइसक्नुभएको छ ।

शान्ति प्रक्रियापछि दशैं प्रवेश गरेको प्रचण्डको परिवारले यो वर्ष पनि दशैं मनाएको छ । प्रचण्डले छोरीहरू, बुहारी र नातिनातिनालाई टीका लगाइदिनुभयो तर उहाँले भने टीका ग्रहण गर्नुभएन ।

प्रचण्ड पुत्री गंगा दाहालले दशैंको टीका लगाएपछिको संयुक्त फोटो सार्वजनिक गर्नुभएको छ । उक्त फोटोमा प्रचण्ड पनि देखिनुहुन्छ तर उहाँको निधार खाली छ । प्रचण्ड पत्नी सीता दाहाल भने फोटोमा देख्न सकिन्न । उहाँ सिकिस्त बिरामी हुनुहुन्छ ।

सम्बन्धित खबरहरु