सिन्धुपाल्चोक । बिहानदेखि बेलुकीसम्म गाई–भैँसीको स्याहारसुसार गर्नु सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका- ५ का कुमार आचार्यको दैनिकी हो ।

बिहान ५ बजेदेखि साँझ नपरुञ्जेलसम्म उहाँ गाई–भैँसीको गोबर, भकारो, सोत्तर र खोलेपानी घाँसको बन्दोबस्तमै व्यस्त हुनुहुन्छ । नौ वर्षमा चारभन्दा बढी देश चहारेर वैदेशिक रोजगारमा हण्डर र गोता खाएपछि उहाँ अहिले कृषि पशुपालनमा आकर्षित हुनुभएको हो ।

मिश्रित कृषि पशुपालन तथा एग्रिकल्चर फार्मबाट आधुनिक कृषि प्रणालीलाई अवलम्बन गर्नुभएका आचार्यको गोठमा चारवटा भैँसी र सातवटा गाई छन् ।

पशुपालन अलावा उहाँले झण्डै ४० रोपनी जग्गामा गोलभेँडा खेती गरिरहनुभएको छ । पाँचवटा टनेलमा गोलभेँडा खेती गरिरहनुभएका आचार्यले १० रोपनी जग्गामा अदुवा र बेसार खेतीसमेत गरिरहनुभएको छ । मलेसिया, कतार, साउदी, भारतको तातो घाममा आचार्यको पसिना बगे ।

मेहेनत र परिश्रम खेर गयो । दुःख बिते । समय बित्यो । तर, आस, हुटहुटी र हिम्मत भने जीवितै रह्यो । त्यहीँ हुटहुटी, हिम्मत र आसले उहाँको जीवनले नयाँ मोड लियो । त्यहीँ नयाँ जीवनको सारथि बनेर आचार्य अहिले स्वदेशमै पसिना बगाइरहनुभएको छ । विदेशमा कमाएको केही पैसाले कृषि क्रान्तिमा लाग्नुभएका आचार्यले झण्डै ३० रोपनी जग्गामा फूल, कागती, आँप, लिचीखेती गरिरहनुभएको छ ।

कृषिका विभिन्न आयामहरूसँग जुधिरहनुभएका आचार्य अब बाँकी जीवन सुखसाथ कृषि पेसामै बिताउने बताउनुहुन्छ । ‘‘अब बाँकी जीवन स्वदेशमै बिताउँछु । आफ्नै गाउँको माटोमा पसिना बगाउँछु’’,उहाँले भन्नुभयो । उहाँ कृषि सुकिलो मुकिलो नभए पनि आत्मनिर्भर पेसा रहेको बताउनुहुन्छ ।

मान्छेले झट्ट कृषि पेसा नरोज्ने आचार्यको बुझाई छ । “मान्छेले झट्ट कृषि पेसा रोज्दैनन् । प्राय धेरै सुकिलो मुकिलो भएरै हिँड्न मन पराउँछन् । तर,कृषिमा सधैँभरि सुकिलो मुकिलो भएर हिँड्ने छुट छैन ।

कृषिमा त गोबर,भकारो,माटोसँग रमाउन सक्नुपर्छ’’,उहाँले भन्नुभयो । उहाँ आफ्नै गाउँको चिसो हावा र माटोसँग खेल्दा जति आनन्द विदेशमा काम गर्दा नआएको बताउनुहुन्छ ।

सङ्घर्ष गर्ने उमेरको आधाआधी जीवन विदेशमा बिताउनुभएका आचार्य नेपाली युवालाई खाडी मुलुक नजान सुझाउनुहुन्छ । ‘‘नेपालमै आयस्रोतका धेरै आयाम छन् । नेपाली युवा काम गर्ने वातावरण छैन भन्दै विदेश हाँकिन्छन् । त्यहाँ पनि कामै गर्ने हो, पसिनै बगाउने हो । त्यो पसिना नेपालमै बगाए राम्रो हुन्थ्यो”, उहाँले भन्नुभयो ।

आचार्य ११ वटा गाई र भैँसीको झण्डै सय लिटर दूध मोटरसाइकलमै हालेर बजारसम्म पु¥याउनुहुन्छ । गाईवस्तुको खानपान र औषधिबाहेक पनि आचार्यको हातमा मासिक रु ९० हजार पर्छ । “गरे जे पनि हुने रहेछ । विदेशमा ३० हजार कमाउन रात दिन नभनी काम गर्नुपथ्र्यो । तर म अहिले घरै बसी–बसी रु ९० हजार कमाउँछु”, उहाँले भन्नुभयो । रु ३० हजार कमाउन खाडीमा १८ घण्टासमेत काम गरेको तितो अनुभव आचार्यसँग छ ।

उहाँ भन्नुहुन्छ, “विदेशमा रु ३० हजार कमाउन अठार–अठार घण्टासमेत काम गरियो । आज ती दिन सम्झँदा आङै सिरिङ्ग सिरिङ्ग हुन्छ”, उहाँ युवालाई कृषिमा प्रोत्साहन गर्ने हो भने नेपाल कृषिमा आत्मनिर्भर बन्ने बताउनुहुन्छ । ‘‘नेपालबाट दैनिकरूपमा सयौँ नेपाली विदेश जान्छन् । त्यसलाई रोकेर कृषिमा युवालाई प्रोत्साहन गर्ने हो भने नेपाल कृषिमा आत्मनिर्भर हुन्छ”, उहाँले भन्नुभयो ।

आचार्यले नेपालमै नयाँ र नौला प्रयोगमा रहेको सिताके च्याउको समेत व्यावसायिक खेती गरिरहनुभएको छ । विसं २०७५ मा पाँच सय मुढाबाट व्यावसायिक च्याउखेतीको सुरुआत गर्नुभएका उहाँले अहिले १५ सय मुढामा च्याउखेती गरिरहनुभएको छ । उहाँ च्याउखेतीको बजार राम्रो रहेको तर उत्पादन ढिला भएको बताउनुहुन्छ । “बजारमा सिताके च्याउको माग अत्यधिक छ । तर उत्पादन ढिला भइरहेको छ । यसले पनि हामीले बजार मागलाई सम्बोधन गर्न सकिरहेका छैनौँ”, उहाँले भन्नुभयो । (रासस)

 

सम्बन्धित खबरहरु