रेसुङ्गा (गुल्मी), २६ कात्तिक । गुल्मी मदाने गाउँपालिका–६ पुर्कोट दहकी पवित्रा विक (५८) हरेक विहान कम्तीमा २ घण्टा एक गाग्री पानी भर्नका लागि खर्चनुहुन्छ ।

उहाँ विगत १२ वर्षदेखि हरेक विहान एक गाग्री पानी भर्नका लागि एक घण्टा पैदल दूरी गरी फुर्कोटदेखि थाम्का पुग्नुहुन्छ । यसरी दुःख गरी ल्याएको पानीले खाना पकाएपछि उहाँ गिट्टी कुट्न छिर्नी पुग्नुहुन्छ ।

विक ४६ वर्ष पुग्दा श्रीमानको मृत्यु भएपछि घर खर्चका लागि गिट्टी कुट्ने काममा लाग्नु भयो । तर एक दशकभन्दा बढी समयदेखि पानीका लागि सङ्घर्षरत उहाँलगायतकाको समस्या समधानका लागि आश्वासन धेरै आएपछि व्यवहारिक रुपमा कसैले पनि काम गरेको छैन । स्थानीय सरकारले पनि समस्या समाधानमा चासो नदेखाएको भन्दै उहाँले गुनासो गर्नुभयो ।

विक जस्तै फुर्सी चुँदाराको पनि दैनिकी पनि उस्तै छ । खानेपानी बोकेर जोहो गर्नुपर्ने बाध्यताका बीच उहाँको घरखर्च चलाउनका लागि गिट्टी कुट्नुपर्ने बाध्यता छ । जिल्लाभर चुनावी रौनकताले छोएका बेला उहाँ भने गिट्टै कुट्न मै व्यस्त हुनुहुन्छ ।
“हामी हरेक दिन सडक छेउ बसी गिट्टी कुटिरहेका छौँ”, गिट्टी कुट्दै गरेकी उहाँले भन्नुभयो, “चुनावले होला झण्डा फहराउँदै गाडी हुँइकिएका छन् तर हाम्रो हालचाल सोध्न रोकिएको थाहा छैन ।”

उहाँहरु कम्तीमा यहाँको खानेपानीको समस्या समाधान गरिदिए धन्य हुने बताउनुहुन्छ । पुर्कोट दहकै ६० वर्षे कमला चुँदारा पनि खानेपानीको समस्या समाधान छिटो होस् भन्ने कामना गर्दै आउनु भएको छ ।

“म जान्ने भएदेखि नै खानेपानीको समस्या छ, तर समस्या समाधानमा कसैले चासो देखाएन”, उहाँले भन्नुभयो, “यो समस्या समाधान भए हाम्रो दैनिकी सहज हुने थियो ।”
उनीहरूले गिट्टी कुट्ने ठाउँ छिर्नी सालझण्डी–ढोरपाटन राजमार्गअन्तर्गत मदाने गाउँपालिकामा हो ।

यस क्षेत्रमा प्रतिनिधिसभा सदस्यका लागि सत्तारुढ गठबन्धनको तर्फबाट नेकपा एकीकृत समाजवादी नेतृ रामकुमारी झाँक्री र नेकपा एमालेको तर्फबाट गोकर्ण विष्ट उम्मेदवार हुनुहुन्छ ।

प्रदेशसभा सदस्यका लागि सत्तारुढ गठबन्धनको तर्फबाट नेकपा (माओवादी केन्द्र)का वुद्धि जिसी र नेकपा एमालेका तर्फबाट दिनेश पन्थी उम्मेदवार हुनुहुन्छ ।

थाम्का टोलमा रहेको खानेपानीको समस्या केही दिनमै समाधान हुने पुर्कोट दहका वडाध्यक्ष मनिराम थापाले दाबी गर्नुभयो । उहाँले अग्लो स्थानमा सानो बस्ती रहेकाले खानेपानी पु¥याउन लिफ्टिङ आयोजना अन्तिम चरणमा पुगेकाले केही दिनमै समाधान हुने जिकिर गर्नुभयो । (रासस)

सम्बन्धित खबरहरु