काठमाडौं । युक्रेनकी प्रथम महिला ओलेना जेलेन्स्काले रुसी हमलारूका कारण ऊर्जा आपूर्ति बन्द हुँदा पनि युक्रेनी नागरिकहरू यो हिउँदयाम झेल्न तयार रहेको बताएकी छन्।

बीबीसीकी प्रमुख अन्तर्राष्ट्रिय संवाददाता लिज डुसेटलाई दिएको अन्तर्वार्तामा जेलेन्स्काले युक्रेनले लडाइँ जारी राख्ने बताउँदै उनकै "जितविना शान्ति कायम हुन नसक्ने" दाबी गरिन्।

रुसले युक्रेनका ऊर्जा पूर्वाधारहरूमाथि आक्रमण गर्दा अहिले लाखौँ युक्रेनी अन्धकारमा बस्न बाध्य छन्।

बिजुली आपूर्ति मात्रै अवरुद्ध वा बन्द नभएर थुप्रै ठाउँमा पानीको आपूर्ति पनि रोकिएको छ।

'सहन तयार'
राजधानी किएभमा कडा सुरक्षा भएको भवनमा बीबीसीसँग कुरा गर्दै राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीकी पत्नी ओलेना जेलेन्स्काले भनिन्- "यो सब सहन हामी तयार छौँ।"

"हामीले थुप्रै पीडादायी चुनौतीहरू झेलेका छौँ, धेरै पीडितलाई देखेका छौँ, थुप्रै विध्वंस हेरेका छौँ। बिजुली आपूर्ति रोकिनु हाम्रो लागि सबैभन्दा ठूलो पीडा पक्कै होइन।"

युरोपेली सङ्घमा युक्रेन आबद्ध हुने भए बिजुली अभावमा आगामी दुई वा तीन वर्ष बस्न पनि तयार रहेको भनी ९० प्रतिशत युक्रेनी नागरिकले बताएको एउटा जनमत सर्वेक्षणको नतिजालाई उद्धृत गर्दै जेलेन्स्काले भनिन्।

"कुनै म्याराथनमा कति किलोमिटर दौडिनुपर्ने छ भन्ने कुरा थाहा भएपछि तपाईँलाई दौडिन सजिलो हुन्छ," उनले थपिन्।

यद्यपि रुससँग जारी लडाइँको सन्दर्भमा युक्रेनले अझ कति गर्नुपर्ने छ भन्ने कुराको यकिन नभएको जेलेन्स्काले बताइन्।

"कहिलेकाहीँ त्यो निकै गाह्रो हुन सक्छ। तर केही नयाँ भावनाहरूले डटिरहन मद्दत गरेका हुन्छन्," उनले अगाडि थपिन्। रुससँग जारी युद्धले युक्रेनीहरूलाई अझै दह्रो बनाउने प्रथम महिलाको विश्वास छ। बीबीसी

सम्बन्धित खबरहरु