काठमाडौं । मतदाताको मन कतिबेला बदलिन्छ र त्यसले राजनीतिमा कतिबेला फेरबदल ल्याइदिन्छ भन्ने कुरा मतगणना भएपछि मात्रै थाहा हुँदोरहेछ ।

त्यसको सामान्य झलक निर्वाचन अगाडि नै देखिने भए पनि खास स्वरुप भने मतगणनामा देखिन्छ ।

राजनीतिक दल र तिनले आफ्नो ठानेको क्षेत्रमा समेत पत्यारै नलाग्ने खालका नतिजा यसपटकको निर्वाचनमा देखिएको छ । सोच्दै नसोचेका उम्मेदवारले लोभलाग्दो सफलता हासिल गरेका छन् । मतदाताको स्वभाव र चाहनालाई ख्याल गर्ने उम्मेदवारले जित निकालेका छन् भने परम्परागत रुपमा निर्वाचनको समयमा मात्रै पुगेका उम्मेदवारले नराम्रो पराजय भोग्नुपरेको छ ।

प्रतिनिधिसभा र प्रदेशसभाको यस पटकको निर्वाचनमार्फत उदाएको राष्ट्रिय स्वतन्त्र पार्टीले प्रत्यक्षतर्फ सात स्थानमा जीत निकालेको छ । राजनीतिमा दिग्गज ठानिएका र लामो समयदेखि नेपाली राजनीतिमा स्थापित हस्तीलाई समेत सो पार्टीका उम्मेदवारले पराजित गरिदिएका छन् । त्यतिमात्रै नभइ कतिपय उम्मेदवारले त बहालवाला मन्त्रीलाई हराएर नयाँ इतिहास कायम गरेका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारसँग पराजित हुनेमा ललितपुर क्षेत्र नं ३ बाट बहालवाला ऊर्जा, जलस्रोत तथा सिञ्चाइमन्त्री पम्फा भुसाल, काठमाडौँ क्षेत्र नं ८ मा संस्कति पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठ र चितवन क्षेत्र नं २ मा राज्यमन्त्री उमेश श्रेष्ठ पराजित हुनुभयो ।

राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट काठमाडौँ क्षेत्र नं ६ मा शिशिर खनाल १४ हजार दुई सय चार मतसहित निर्वाचित हुँदा नेकपा(एमाले)का उम्मेदावर सर्वेन्द्र खनालले आठ हजार नौ सय ११ मत प्राप्त गरी उपविजेतामा सीमित रहनुभयो । सोही क्षेत्रबाट उम्मेदवार रहनुभएका सत्तागठबन्धनका उम्मेदवार तथा पूर्वमन्त्री भीमसेनदास प्रधानले तेस्रो स्थानमा चित्त बुझाउनुभयो । प्रधानले आठ हजार आठ सय पाँच मत प्राप्त गर्नुभयो ।

चितवन क्षेत्र नं १ लाई प्रमुख राजनीतिक दलले आफ्नो प्रभाव रहेको क्षेत्रका रुपमा चर्चा गर्ने गरेका थिए । सोही क्षेत्रमा नेपाली समाजमा प्रचलित लोकोक्ति ‘नपत्याउने खोला’ ले बगाउँछ भने जस्तै भयो । राष्ट्रिय योजना आयोगका उपाध्यक्षबाट राजीनामा दिएर चुनावी मैदानमा खडा हुनुभएका विश्वनाथ पौडेल पराजित हुनुभयो ।

कांग्रेसका उम्मेदवार पौडेलमात्रै नभइ पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले पनि नमिठो पराजय भोग्नुप¥यो । स्वतन्त्र पार्टीका हरि ढकालले ३४ हजार एक सय ८९ मत प्राप्त गरी विजयी हुँदा कांग्रेसका पौडेलले २४ हजार नौ सय ९० मत र एमालेका उपाध्यक्षसमेत रहनुभएका पाण्डेले २६ हजार छ सय आठ मत प्राप्त गर्नुभयो ।

काठमाडौँ क्षेत्र नं ७ मा त्यस्तै भयो । निर्वाचन अगाडि नामै नसुनिएका गणेश पराजुली आठ हजार सात सय ४३ मत प्राप्त गरी विजयी हुनुभयो । स्वतन्त्र पार्टीका पराजुली विजय हुँदा एमालेका श्यामकुमार घिमिरेले छ हजार आठ सय र माओवादी केन्द्रका मानुषी यमी भट्टराईले छ हजार ६३ मत प्राप्त गर्नुभयो ।

काठमाडौँ क्षेत्र नं ८ मा अप्रत्यासित नतिजा यसपटकको निर्वाचनमा आयो । बहालवालामन्त्री नै पराजित हुनुप¥यो । स्वतन्त्र पार्टीका विराजभक्त श्रेष्ठले १० हजार एक सय १२ मत प्राप्त गरी विजयी हुँदा स्थानीय तहको निर्वाचनताका चर्चित उम्मेदवार हाम्रो नेपाली पार्टीका सुमन सायमीले छ हजार एक सय ७९ मत प्राप्त गर्नुभयो । सो क्षेत्रमा एमालेका उम्मेदवार शिवसुन्दर राजवैद्यले तीन हजार आठ सय ९१ मत प्राप्त गर्नुभयो । बहालवाला मन्त्रीसमेत रहनुभएका मन्त्री श्रेष्ठ तेस्रो स्थानमा रही चार हजार आठ सय ८१ मत प्राप्त गर्नुभयो ।

स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका रवि लामिछानेले ४९ हजार दुई सय ६४ मत ल्याई निर्वाचित हुँदा उहाँका प्रतिस्पर्धीसमेत रहनुभएका कांग्रेसका श्रेष्ठले १४ हजार नौ सय ८३ मत र एमालेका कृष्णभक्त पोखरेलले १४ हजार छ सय ४७ मत प्राप्त गर्नुभयो ।

पूर्व सभामुख ओनसरी घर्तीलाई चौँथो स्थानमा सीमित गरेर काठमाडौँ क्षेत्र नं २ बाट निर्वाचित हुनेमा पर्नुहुन्छ स्वतन्त्र पार्टीकै सोविता गौतम । उहाँले १५ हजार दुई सय ३८ मत प्राप्त गर्दा एमालेका मणिराम फुँयालले ११ हजार पाँच सय ६६ मत, राप्रपाका कुन्तीदेवी पोखरेलले ११ हजार २४ मत र माओवादीका उम्मेदवार घर्तीले नौ हजार चार सय ५९ मत प्राप्त गर्नुभयो ।

ललितपुर क्षेत्र नं ३ बाट विजयी तोसिमा कार्कीले ३१ हजार एक सय ३६ मत प्राप्त गर्नुभयो । दोस्रो स्थानमा एमालेका अमृत खड्काले १२ हजार नौ सय ६३ मत र तेस्रो स्थानमा चित्त बुझाउँदै ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री समेत रहनुभएका भुसालले आठ हजार सात सय ६९ मत प्राप्त गर्नुभयो । समानुपातिकतर्फ स्वतन्त्र पार्टीले अपराह्न ३ बजेसम्म कूल नौ लाख ५८ हजार सात सय तीन मत प्राप्त गरेको छ । रासस

 

 

सम्बन्धित खबरहरु