काठमाडौं । झापामा चार महिनाको अवधिमा ३७ एचआइभी एड्स सङ्क्रमित थपिएका छन् । यस वर्षको साउनदेखि कात्तिकसम्ममा सो सङ्ख्यामा एचआइभी एड्स सङ्क्रमित थपिएका हुन् ।

स्वास्थ्य कार्यालय झापाका एचआइभी एड्स फोकल पर्सन वीरेन्द्र दासका अनुसार दमकस्थित दमक अस्पतालमार्फत औषधि सेवन गर्ने गरी ११ तथा प्रादेशिक अस्पताल भद्रपुरमार्फत औषधि सेवन गर्ने गरी २६ एचआइभी सङ्क्रमित थपिएका हुन् । गत वर्ष ३० जनामा एचआइभी एड्स सङ्क्रमण भएको थियो । जिल्लामा हाल छ सय ३६ एचआइभी सङ्क्रमितले नियमित औषधि (एआरटी) सेवन गरिरहेका छन् ।

दमक अस्पतालअन्तर्गत दुई सय ११ र प्रादेशिक अस्पताल भद्रपुरअन्तर्गत चार सय २५ जनाले एआरटी औषधि सेवन गरिरहेको स्वास्थ्य कार्यालयले जनाएको छ । ‘एड्स अन्त्यका लागि समानताको सुनिश्चितता गरौँ’ नाराका साथ आज जिल्लामा विविधि कार्यक्रम गरी ‘विश्व एड्स दिवस’ मनाइँदैछ ।

सुत्केरीलाई रु पाँच हजार भत्ता
पूर्वी नवलपरासीको गैँडाकोट नगरपालिकाले सुत्केरीलाई रु पाँच हजार भत्ता दिन सुरु गरेको छ । नगरपालिकाले नगरभित्र रहेका सरकारी स्वास्थ्य संस्थामा बच्चा जन्माउने सुत्केरीलाई भत्ता दिन थालेको हो ।

नगरपालिकाको आव २०७९÷८० को नीति तथा कार्यक्रममा समावेश गरिएको ‘सुत्केरी आमा पोसिलो खाना’ कार्यक्रममा आधारित रहेर सुत्केरीलाई भत्ता दिन सुरु गरिएको गैँडाकोट नगरपालिकाका नगरप्रमुख मदनभक्त अधिकारीले जानकारी दिनुभयो । नगरप्रमुख अधिकारी र उपप्रमुख शान्ति कोइरालाले गैँडाकोट नगर अस्पतालमा पुगेर संयुक्तरुपमा सुत्केरीलाई भत्ता वितरण गरेर कार्यक्रमको शुभारम्भ गर्नुभएको हो ।

नगरपालिकाका स्वास्थ्य शाखाका प्रमुख झलकराज पौडेलका अनुसार मङ्गलबार र बुधबार दुई दिनमा ३१ सुत्केरीलाई भत्ता वितरण गरिएको छ । नगरभित्रका सरकारी स्वास्थ्य संस्थामा सुत्केरी भएकालाई सम्बन्धित वडा कार्यालयको सिफारिसमा भत्ता वितरण गर्ने गरिएको पौडेल बताउनुहुन्छ । नगरपालिकामा गैँडाकोट नगर अस्पताल र गैँडाकोट स्वास्थ्यचौकीमा बर्थिङ सेन्टर सञ्चालनमा छन् ।

त्यस्तै नगरपालिकाले विकट वडा मानिएका वडा नं ३ र १८ का गर्भवतीका लागि ‘नगर अस्पताल आमा घर’समेत सञ्चालन गरेको छ । आमा घरमा गर्भवतीलाई स्वास्थ्यकर्मीको निगरानीमा बस्न पाउने व्यवस्था गरिएको छ ।रासस

 

 

सम्बन्धित खबरहरु