फोटोःप्रधानमन्त्री कार्यालयकाठमाडौँ, १९ माघ । एसियाली विकास बैंक (एडिबी) का अध्यक्ष ताकेहिको नाकाओले आज प्रधानमन्त्री कोइरालासँग भेटवार्ता गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा भएको सो भेटमा प्रधानमन्त्री कोइरालाले आफ्नो मुलुक शान्ति प्रक्रियापछि विकास निर्माणमा लागेकाले त्यसमा आवश्यक पर्ने ठूलो पूँजीको लागि एडिबीबाट सहयोगका लागि आग्रह गर्नुभएको प्रधानमन्त्रीका आर्थिक सल्लाहकार डा चिरञ्जीवी नेपालले बताए ।

प्रधानमन्त्री कोइरालाले एडिबीले गौतम बुद्ध विमानस्थल, मेलम्ची खानेपानी आयोजना, माथिल्लो सेती जलविद्युत्लगायत आयोजनामा गरेको सहयोगको प्रशंसा गर्दै अन्तर्राष्ट्रिय विमानस्थलको पुनःनिर्माण, बुढी गण्डकी जलविद्युत् आयोजना, कृषिको व्यवसायीकरणलगायतमा सहयोगको अपेक्षा पनि गरेका थिए।

उनले मुलुकमा भ्रष्टाचार न्यूनीकरण गर्दै एडिबीको रणनीतिअनुसार नै सहयोगलाई सदुपयोग गर्ने विश्वास दिलाएको भेटमा संलग्न सल्लाहकार डा नेपालले बताए ।

सो अवसरमा अध्यक्ष नाकाओले नेपालको विकास निर्माणमा सक्दो सहयोग गर्ने वाचा गर्दै एडिबीको सहयोगलाई निरन्तरता दिने बताएका थिए ।

सम्बन्धित खबरहरु