काठमाडौं । लुम्बिनी प्रदेशको सदरमुकाम बुटवलबाट दाङ सारिएको छ । विवादकाबीच बुटवलमा रहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय दाङ सारिएको हो ।

जानकारी अनुसार सामान मध्यरातमा दाङको देउखुरी सारिएको हो । अब बुटवलमा मुख्यमन्त्री कार्यालय बन्द रहने र दाङमै खुल्ने प्रदेश सरकारले स्पष्ट पारेको छ ।

प्रदेश सरकारका प्रवक्ता तिलकराम शर्माले तीन वटा ट्रकमा सामानहरू लोड गरी राति नै दाङ लगिएको जानकारी गराउनुभयो । उहाँका अनुसार अब मुख्यमन्त्री कार्यालय बुटवलमा खुल्दैन, सामान र कार्यालय व्यवस्थापन भएपछि दाङमै खुल्छ ।

तीन वटा ट्रकमा लोड गरेर कार्यालयका सम्पूर्ण फर्निचर, कागजपत्र र सचिवालयको सामानसहितको कार्यालयका सम्पूर्ण सामग्री बोकेर मुख्यमन्त्रीसहितको सम्पूर्ण टोली देउखुरी गएको हो ।

सोमबार मध्यरातमा मुख्यमन्त्री र सचिवालयबाट ल्याइएको सामान दाङ देउखुरीको राप्ती गाउँपालिका–३ स्थित राप्ती प्राविधिक शिक्षालयमा रहेको मुख्यमन्त्री कार्यालयमा बिहान झारिएको हो ।

मुख्यमन्त्री कुलप्रसाद केसीका प्रेस संयोजक मानसिंह विकका अनुसार देउखुरीमा राति लगिएका सामग्री अहिले राप्ती प्राविधिक शिक्षालयको प्रशासनिक भवनमा व्यवस्थापन गर्न लागिएको बताउनुभयो । दिउँसो सामान लैजान खोज्दा काममा डिस्टर्ब हुने भएकाले कार्यालय बन्द भएपछि सारिएको र हरेक परिवर्तनहरू रातमा गरिएको हो ।

प्रदेशसभाले पनि निर्वाचित भएर आएका प्रदेशसभा सदस्यहरूको शपथ देउखुरीमै गराउने तयारी गरिरहेको छ । नेकपा एमालेले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय दाङ नर्सान अनुरोध गरेको थियो ।

सम्बन्धित खबरहरु