काठमाडौं । चीनको राज्य परिषद्का सदस्य एवम् विदेशमन्त्री वाङ यीले नयाँ युगको आवश्यकता पूरा गर्ने द्विपक्षीय सम्बन्ध निर्माणका निम्ति चीन र जापानले सहकार्य गर्नुपर्नेमा जोड दिनुभएको छ ।

चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको राजनीतिक ब्यूरोका सदस्य समेत रहेका वाङले १८औँ बेइजिङ–टोक्यो फोरमको उद्घाटन समारोहमा भिडियो सम्बोधन गर्दै एसियाको विकास र पुनरुत्थानका लागि दुवै देशले संयुक्तरूपमा मिलेर काम गर्नुपर्नेे बुधबार बताउनुभयो ।

यो वर्ष चीन–जापान कूटनीतिक सम्बन्ध कायम भएको ५०औँ तथा आगामी वर्ष चीन–जापान शान्ति तथा मैत्री सन्धिमा हस्ताक्षर भएको ४५औँ वर्षमा प्रवेश गर्ने सन्दर्भमा विदेशमन्त्री वाङले दुवै पक्षले यी वार्षिकोत्सवका अवसरलाई द्विपक्षीय सम्बन्ध अझ दिगो र स्थिर बनाउन सदुपयोग गर्नुपर्ने बताउनुभयो । उहाँले द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउन पाँचबुँदे सुझाव पनि प्रस्तुत गर्नुभयो ।

चीन र जापानले एकअर्कालाई विश्वासका साथ सम्मान गर्दै राजनीतिक प्रतिबद्धतामा अडिग रहनुपर्नेमा चिनियाँ विदेशमन्त्रीले जोड दिनुभयो । उहाँले द्विपक्षीय सम्बन्ध राजनीतिक आधारशिलामा टिकेको इतिहासतर्फ इङ्गित गर्दै ताइवानलगायत प्रमुख एवम् संवेदनशील मुद्दालाई विशेषरूपमा सम्हाल्नुपर्ने बताउनुभयो । चीन र जापानले पनि एकअर्कालाई सहयोग गर्नु आवश्यक भएको उहाँको कथन थियो ।

चीनले गुणस्तरीय विकासलाई प्रवद्र्धन, खुलापन विस्तार र विकासको नयाँ ढाँचालाई बढावा दिने बताउँदै चीनको साझा विकास र समृद्धिका प्रयासले ल्याएका अवसर साझा गर्न जापानलाई स्वागत छ भन्नुभयो । विदेशमन्त्री वाङले दुई पक्षले एकअर्कालाई इमानदारीपूर्वक व्यवहार गर्नुपर्ने तथा शान्तिपूर्ण सहअस्तित्वका लागि प्रयास गर्नुपर्नेमा जोड दिनुभयो । रासस

 

 

सम्बन्धित खबरहरु