Death of a Nepali in America : बाल्टिमोर, अमेरिका । अमेरिकाको मेरिल्याण्ड राज्यस्थित रकभीलमा एक नेपाली युवा आफ्नै घरमा सुतेको अवस्थामा मृत भेटिएका छन् ।

नेपालको उदयपूर जिल्लाको गाईघाट साउने घर भएका ३७ बर्षका भूपाल कुमार मगरको मंगलबार विहान निधन भएको पारिवारीक श्रोतले जानकारी दिएको छ ।

सोमबार बेलुका भूपाल भर्जिनियाका आफन्तको घरमा भएको पूजामा गएका थिए । भूपालका फुपाजु उद्धव खपागींले भने ।

भूपालले त्यहां आफ्नो दुई महिनाको छोराको सुस्वास्थ्य र दीर्घायुको कामना गर्दै काखमा लिएर पूजास्थललाई तीन फन्को घुमेको पनि फुपाजु खपागींले सम्झिए ।

भूपाल घरमा आएर पनि खाना खाएर सुतेका थिए । राती साढे २ बजेतीर छोरा रोयो । सधैं उहां उठेर फुल्याउनु हुन्थ्यो तर उठ्नु भएन । म उठ्दा उहाँलाई श्वासप्रश्वासमा समस्या भएको देखें । छटपटाईरहनु भएको थियो । के भयो भन्दै झकझक्याएं । उहाँलाई धेरैपटक बोलाउने कोशिस गरें । उहांले नबोलेपछि ईमरजन्सीमा कल गरें श्रीमती पारु थापाले भनिन, रेस्क्यु टिमले बेड मै आएर केही प्रयास गर्यो तर केही पार लागेन, ३ बजेतिर डेथ डिक्लियर गरिदियो ।

भूपालसँगको यहि तस्बिर परिवारका लागि अन्तिम भयो
भूपालको शबलाई अहिले बाल्टिमोर मेडिकल सेन्टरमा पोष्टमार्टमका लागि राखिएको उद्धवले जानकारी दिए । हिजो धेरै डेड बडी को पोष्टमार्टम गर्नु पर्ने भएकोले पालो आएन । आज पोष्टमार्टम हुन्छ । अनि अन्तिम संस्कारका बारेमा निर्णय गर्छौं । उद्धवले भने ।

भूपाल सन् २०१४ मा डिभी लटरी परेर अमेरिका आएका थिए । सन् २०१८ मा नेपाल गएर उदयपुर बाँसबोटेकी पार्बती थापा पारुसँग विवाह गरेर फर्किएका थिए ।

भूपालकी श्रीमती अमेरिका आएको एक बर्ष मात्र भएको छ । उनीहरुबाट जन्मिएको छोरा अहिले दुई महिनाका छन् । घटनाका बारेमा बुझ्न उद्धवसँग कुरा गर्दा श्रीमान गुमाएकी पार्बती पनि संगै थिईन । उनले फोनमा समाचार संकलकलाई भनिन्, तपाईको समाचारमा हामी तीनजनाको अन्तिम तस्बीर पनिसँगै राखिदिनु होला । मैले ठूलो भएपछि छोरालाई उस्को बाबुको बारेमा त्यो समाचार देखाउने छु ।

भूपालको निधनको खबर नेपाल आफन्तलाई पनि पठाईसकिएको जानकारी प्राप्त भएको छ । भूपालको श्रीमती र छोरालाई यहाँका उनका साथीभाईहरुले सहयोग गरिरहेका छन् ।

भूपाल केही समयदेखि डब्लुएफजी नामक कम्पनीसँग पनि आबद्ध थिए । पारिवारको आर्थिक सुरक्षाको बारेमा ख्याल गर्नुपर्छ भनेर चेतना जगाउने सहयोग गर्ने गर्थे ।

उनले यो संसार छाडेर जादै गर्दा परिवार र समाजलाई आर्थिक भार भने थोपरेका छैनन । उनले फेमिली प्रोटेक्सन वापत १.२ मिलियनको ईन्सुरेन्स खरीद गरेर बसेका थिए । डब्लुएफजीका सिनियर मार्केटिगं डाईरेक्टर समेत रहेका उद्धव खपांगीले बताए ।

उनले थपे, भूपाल अति नै रमाईलो र असल मान्छे थिए । उनले धेरै छिटो यो संसार छाडेर गएकोमा हामी दुःखी छौं । उनको अभाव परिवारमा सधै खड्किईरहनेछ तर, उनले परिवारको जिम्मेवारी चटक्क छाडेर गएनन् । जादाजादै एउटा लिगेसी भने छोडेर गएका छन् ।

सम्बन्धित खबरहरु