काठमाडौं । विद्वान्हरूलाई सयौँ वर्षदेखि द्विविधामा पारिदिएको संस्कृत व्याकरणको एउटा नियमको गुह्य अर्थ खुलाउँदै व्याकरणसम्बन्धी प्राचीनतम 'समस्या' सुल्झाइएको दाबी यूकेस्थित केम्ब्रिज विश्वविद्यालयमा विद्यावारिधि गरिरहेका एक भारतीय विद्यार्थीले गरेका छन्।
संस्कृत भाषालाई नियमबद्ध पार्ने क्रममा महर्षि पाणिनिले निर्माण गरेको व्याकरणको ग्रन्थ "अष्टाध्यायी"मा उल्लिखित एउटा सूत्रको अर्थ लगाउँदै ती विद्यार्थीले आफ्नो शोध बुझाएका छन्। उनी २७ वर्षीय ऋषि राजपोपट हुन्।
पाणिनि इसापूर्व पाँचौँ शताब्दीका प्रख्यात वैयाकरण हुन्। उनले रचना गरेको व्याकरण अहिले पनि अभ्यासमा छ।
संस्कृत मातृभाषा भएका व्यक्तिको जनसङ्ख्या निकै कम छ। तर नेपाल र भारतमा विद्यालय तहदेखि र विश्वका विभिन्न देशहरूमा यो भाषाको उच्च तहमा अध्ययन र अध्यापन हुँदै आएको छ।
केम्ब्रिज विश्वविद्यालयले अहिले भारतमा झन्डै २५,००० जनाले मात्रै यो भाषा बोल्ने गरेको जनाएको छ।
राजपोपटले उक्त सूत्रको अर्थ लागेपछि आफूलाई ठूलै उपलब्धि भए जस्तो लागेको बताएका छन्। उनका अनुसार त्यसअघि नौ महिनासम्म त्यसबारे विचार गर्दा कुनै निष्कर्ष निस्किएको थिएन।
“एक महिना त मैले पुस्तकहरू बन्द गरेर ग्रीष्मयामको आनन्द लिएँ- पौडी खेलेँ, साइकल चलाएँ, पकाएँ, प्रार्थना गरेँ र ध्यान गरेँ,” उनले सुनाए।
"त्यसपछि काममा फर्किँदा पनि मलाई जाँगर चलेको थिएन। तर काम सुरु गरेको केही मिनेटमै मैले पानाहरू पल्टाउँदा यी शैलीहरू देखा पर्न थाले। त्यसपछि बल्ल अर्थ लाग्न थाल्यो," राजपोपटले भने।
उनले यो समस्या समाधानका लागि आफूले “दिनैपिच्छे घण्टौँ पुस्तकालयमा समय व्यतीत गरेको र कतिपय अवस्थामा मध्यरातसम्म बस्दा पनि” साढे दुई वर्ष लागेको बताएका छन्।
संस्कृत भाषालाई देववाणी पनि भनिन्छ। हिजोआज सामान्य व्यवहारमा प्रयोग नभए पनि यसलाई सनातन हिन्दू धर्मावलम्बीहरू पवित्र मान्छन्।
विज्ञान, दर्शन, साहित्य र आयुर्वेदसहित विभिन्न विषयका ग्रन्थ संस्कृतमा लेखिएका छन्। बौद्धधर्मका अनेक ग्रन्थ पनि यो भाषामा लेखिएका छन्।
पाणिनीय व्याकरणअनुसार धातु र प्रत्ययमा आधारित भएर शब्द र वाक्यको रचना गरिन्छ।
यद्यपि दुई वा बढी नियमहरू कहिलेकाहीँ एकैचोटि प्रयोग हुँदा द्विविधा उत्पन्न हुने गरेको थियो।
पाणिनिको एउटा सूत्रको अर्थ विद्वान्हरूले "उस्तै सामर्थ्य भएका दुई सूत्रहरू बाझेको अवस्थामा अष्टाध्यायीमा पछि उल्लिखित सूत्र कार्यान्वन हुने" लगाउँदै आएका थिए।
तर त्यसो गर्दा पनि अशुद्धि हुने गरेको थियो।
राजपोपटले उक्त सूत्रको परम्परागत परिभाषा स्वीकार गरेनन् र नयाँ अर्थ लगाए। उनले क्रमानुसार शब्दको दायाँ र बायाँतर्फको नियम लागु हुने र पाणिनिले दायाँतर्फको निमय रोज्न भनेको तर्क गरे।
यो परिभाषासहित सूत्र प्रयोग गर्दा व्याकरणीय दृष्टिले त्रुटिविहीन शब्दहरू बने।
“यो अन्वेषणले भारतमा धेरै विद्यार्थीहरूलाई निर्धक्क भएर गौरव र आशापूर्वक ठूलाठूला उपलब्धि हासिल गर्न प्रेरित गर्नेछ भन्ने मेरो आशा छ,” राजपोपटले भने।
केम्ब्रिजस्थित उनका गुरु भिन्सेन्जो भर्गियानीले भने, “विद्वान्हरूलाई शताब्दियौँदेखि समस्यामा पारिरहेको एउटा असाधारण समस्याको समाधान उनले पत्ता लगाएका छन्।”
“संस्कृतमा धेरैको रुचि बढिरहेको बेला यो अन्वेषणबाट संस्कृत अध्ययनमा क्रान्ति आउनेछ।" बीबीसी नेपालीबाट