अर्घाखाँची, २ पुस । विश्वको प्राचीन संस्कृत भाषाको व्याकरणको उत्पत्ति भएको र रचना भएको अर्घाखाँचीको पाणिनि तपोभूमि ओझेलमा परेको छ ।

हजाराँै वर्ष पहिले पाकिस्तानको लाहोरबाट तपस्या गर्दै अर्घाखाँचीको खिदिममा आएका पाण्निि ऋषिले पणेनाको लेकमा तपस्या गरेर संस्कृत व्याकरणको रचना गरेका थिए । पाणिनि तपोभूमि क्षेत्र विश्व भाषा सम्पदाको प्रमुख स्थल हो ।

यसै क्षेत्रमा आएर पाणिनि ऋषिले तपस्या गरेपछि भगवान् शिव प्रशन्न भएर डमरु बजाउँदै अइउण्, ऋलृक, एओङ्, ऐऔच् लगायत १४ सूत्रको स्वर निकालेको र ती चौध सूत्रबाट संस्कृत व्याकरणको रचना गरेको पण्डित केसवानन्द मरासिनीको भनाइ छ । यस क्षेत्रको व्यापक प्रचार–प्रसार गर्न सके विश्वकै एउटा धार्मिक पर्यटकीयस्थलको रूपमा विकास गर्न सकिन्छ ।

विश्वकै प्राचीन भाषा उत्पत्ति भएको क्षेत्र भए पनि यो क्षेत्र ओझेलमा परेकाले प्रचार–प्रसारका लागि विश्व भाषासँग सम्बन्धित सबै लाग्नुपर्ने पणेनामा रहेको नेपाल राष्ट्रिय उच्च माविका प्राचार्य पुस्कर पोख्रेलको भनाइ छ ।
अर्घाखाँचीको पूर्वमा रहेको पाणिनि गाउँपालिका–१ पणेनामा यो तपोभूमि पर्दछ । यस तपोभूमिबाट उत्तर फर्कँदा हिमालयका हिमशृङ्खला, दक्षिण फर्कँदा तराईका फाँट अनि भारतीय भूमि देख्न पाइन्छ ।

अर्घाखाँचीको पोखराथोक र पाल्पा जिल्लाको तीनधारेबाट केही मिनेट उकालो हिँडेपछि यस क्षेत्रमा पुग्न सकिन्छ । यस क्षेत्रको प्रचार–प्रसार गर्न सके धार्मिक ऐतिहासिक र पर्यटकीय क्षेत्रबाट नेपालीलाई फाइदा हुनसक्ने स्थानीय बताउँछन् ।

पाण्निि ऋषिले तपस्या गरेको र व्याकरण उत्पत्ति भएको भन्ने धेरै प्रमाण भेटिएको पाणिनि गाउँपालिकाका पूर्वअध्यक्ष अच्युत गौतमको भनाइ छ । गाउँपालिकाको नाम पनि यही तपोभूमिको नामबाट रहन गएको हो ।

यस क्षेत्रको व्यापक प्रचार–प्रसार गर्न सके अर्घाखाँचीलगायत नेपालका सम्पूर्ण जनतालाई फाइदा पुग्ने र कुनै सङ्घसंस्थाबाट सहयोग पाए आफूहरू तीव्र भएर लाग्ने स्थानीय कपिल पोखरेलले बताउनुभयो । हाल सो क्षेत्रमा एउटा पोखरी निर्माण गरिएको छ । यहाँका मन्दिर, पौवा जीर्ण हुने अवस्थामा रहेका छन् ।

पाणिनि ऋषिले पणेनामा तपस्या गरेर निस्किएको चौध सूत्रलाई महेश्वर सुत्राणी भनिएको र तिनैका आधारमा लघु सिद्धान्त, मध्य सिद्धान्त र सिद्धान्त कौमुदीको निर्माण गरेको भन्ने संस्कृतका विज्ञहरू बताउँछन् । पाणिनिका चौध सूत्रलाई प्रचार–प्रसार र संस्कृतको व्याकरण रचना गर्ने क्रियाकलापमा पाणिनिपछि कात्यानी र पतञ्जलीसमेत लागिपरेका थिए । (रासस)

सम्बन्धित खबरहरु