Prasnawali_Samitiकाठमाडौं । एमाओवादी नेतृत्वको विपक्षी मोर्चाको विरोधका बीच संविधान सभाले गठन गरेको प्रस्ताव समितिले संविधानको प्रस्तावना र मौलिक हकमा रहेका विवादका विषयमा प्रश्नको अन्तिम टुङ्गो लगाएको छ।

समितिले गठन गरेको अग्नि खरेल संयोजकत्वको उपसमितिले विवादका विषयमा प्रश्नावली तयार गरेर समितिमा बुझाएको थियो। तर प्रश्नावली निर्माणको काम भने नसकिएको उपसमितिमा सदस्य रहेका कांग्रेस सभासद् रमेश लेखकले बताए। समितिलाई प्रश्न बनाउन (बुधबार)सम्मको म्याद छ।

'तत्कालीन संवैधानिक समितिसँग सम्बन्धित असहमति रहेका संविधानको प्रस्तावना र संशोधन तथा मौलिक हक अधिकारको दुई विषयमा प्रश्न तयार भयो', लेखकले भने।

समिति अन्तर्गतको उपसमितिले व्यवस्थापकीय अङ्गको स्वरुप निर्धारणका विषयमा समेत प्रश्नावली निर्माण अन्तिम चरणमा पुर्‍याएको बैठकमा जानकारी गराएको थियो।

समय नपुग्ने

'भोलिसम्ममा अधिकांश विषयमा प्रश्नावली तयार हुन्छ', समितिका सदस्य लेखकले भने, 'तर समितिले पाएको समयमा टुङ्ग्ने सम्भावना भने छैन।'

उपसमितिमा रहेका एमाले सभासद् कृष्णभक्त पोखरेलले भने कतिवटा प्रश्न तयार गरिएको भन्ने विषयमा भने तत्काल बताउन नमिल्ने बताए।
उनले उपसमिति धेरै भन्दा धेरै प्रश्न तयार गर्न लागिरहेको बताए। 'भोलिको बैठकपछि मात्र हामी प्रश्नबारे बताउन सक्छौँ', पोखरेलले भने।

शब्द-शब्दमा विवाद

भावी संविधानको प्रस्तावना लेखनमा समेत शब्द शब्द मा विवाद रहेका छन्। जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन लगायतका व्याख्या, आत्मनिर्णयको अधिकारको ब्याख्या लगायतका शब्द राख्ने कि नराख्ने भन्नेमा प्रश्न तयार हुने एक सभासद्ले बताए।

मौलिक हकका सवालमा पहिलो संविधानसभामा विवादमा रहेका न्याय सम्बन्धी हक, सम्पत्ति सम्बन्धी हकका बिषयमा पनि प्रश्न तयार हुने समितिमा रहेका एक सभासद्ले बताए।

समितिको म्याद ५ दिन थपिने

यसैबीच, संविधान सभाले प्रस्ताव समितिको म्याद पाँच दिन थप गर्ने भएको छ। प्रश्नावली तयार गर्ने काम जारी रहेको भन्दै बिहीबारको संविधान सभाको बैठकमा प्रस्ताव समितिले प्रतिवेदन पेश गर्ने तयारी गरेको छ।

लगत्तै संविधानसभाले पाँच दिन समय थप गर्ने बुझिएको छ। प्रस्ताव समितिको म्याद म्याद बुधबार सकिदैँछ।

सम्बन्धित खबरहरु