काठमाडौं । प्राचीन बाल्कन समाजमा महिलाहरू शपथ लिएर आजीवन ब्रह्मचर्यको व्रत लिन्थे र पुरुषले जसरी आफ्नो जीवन व्यतीत गर्थे।

तर उक्त परम्परा क्रमशः मासिन थालेको छ। त्यसरी ब्रह्मचर्यको शपथ लिएका केवल एक दर्जनजति महिला अहिले भेटिन्छन्।

"एल्बेनिया पुरुषहरूको संसार थियो र त्यसमा बाँच्ने एउटा उपाय पुरुष हुनु थियो," ज्युस्तिना ग्रिशाईले भनिन्।

उत्तरी एल्बेनियाको पर्वतीय क्षेत्रमा बस्ने यी महिलाले २३ वर्षको उमेरमा आफ्नो जीवन पूरै परिवर्तन हुनेगरी एउटा निर्णय गरिन्।

उनले ब्रह्मचर्यको शपथ लिइन् र आजीवन पुरुषसरह जीवन व्यतीत गर्ने वाचा गरिन्।

एक शताब्दीभन्दा लामो समयदेखि ज्युस्तिनाको परिवार लपुशको मालसी ए मादे क्षेत्रमा बसोबास गर्दै आएको छ। वरिपरि नाङ्गा डाँडाकाँडा भएको उक्त उपत्यकामा शपथ लिएर कुमारी बन्ने प्रथा प्रचलनमा छ।

उक्त परम्पराअनुरूप गाउँका अग्रजबाट महिलाहरूले शपथ ग्रहण गर्छन् र पुरुषसरह जीवन बिताउँछन्।

ब्रह्मचर्यमा बस्ने त्यस्ता महिलालाई "बुर्नेशा" भनिन्छ।

''विश्वमा कैयौँ अविवाहित मानिसहरू छन् तर ती ब्रह्मचर्यको व्रतमा बसेका कुमारी होइनन्। बुर्नेशाहरू आफ्नो परिवार, काम गर्न, बाँच्न अनि आफ्नो पवित्रता जोगाउन समर्पित हुन्छन्," ५७ वर्षे ज्युस्तिनाले भनिन्।

विगतमा धेरै महिलाका लागि आफ्नो यौनिक, प्रजननीय र सामाजिक पहिचान फेर्नु त्यतिबेला केवल पुरुषले उपभोग गर्दै आएको स्वतन्त्रता पाउने उपाय थियो।

ब्रह्मचर्यको व्रतमा बसेका महिलाहरूले पुरुषले जस्तै लुगा लगाउन, घरमूली बन्न, समाजमा खुला रूपमा प्रस्तुत हुन अनि परम्परागत रूपमा पुरुषहरूले मात्रै गर्न पाउने काम गर्न छुट पाउँथे। बीबीसी नेपालीबाट

सम्बन्धित खबरहरु