काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले राष्ट्रपतिको निर्वाचनमा प्रधानमन्त्रीको परीक्षा हुने बताउनुभएको छ ।

शनिबार संसद बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै डा. महतले संविधानको रक्षाको पक्षमा उभिने कि नउभिने भनेर प्रधानमन्त्रीले तय गर्ने बेला आएको बताउनुभएको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले फेरि संसद विघटनलाई प्रमुखताका साथ उठाएको र उहाँकै संयोजनमा सभामुख लगायतको तय गरिएकाले संविधानमाथि खतरा रहेको उहाँको दाबी छ ।

त्यही कारण प्रधानमन्त्रीलाई विश्वासको मत दिएपनि सभामुख र उपसभामुखमा प्रतिस्पर्धा गरेको उहाँको तर्क छ ।

सभामुखमा एमालेका देवराज घिमिरे निर्वाचित हुनुभएको छ । शनिबार उपसभामुखमा राष्ट्रिय स्वतन्त्र पार्टीकी इन्दिरा राना मगर निर्वाचित हुनुभएको छ ।

कांग्रेस प्रवक्ता डा. महत भने सभामुख र उपसभामुखको निर्वाचनमा परीक्षामा प्रधानमन्त्री उत्तिर्ण हुन नसकेको टिप्पणी गर्नुभयो । ‘अब प्रधानमन्त्री पनि कहाँ उभिने ? संविधान रक्षाको पक्षमा उभिने कि नउभिने ?,’

उहाँले भन्नुभयो, ‘सभामुख–उपसभामुखको परीक्षणमा उहाँहरु उत्तीर्ण हुनु भएको छैन । अब राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचन आउँदैछ, यो सबभन्दा परीक्षणको घडी छ ।’ आशा छ नेपाली कांग्रेसलाई राष्ट्रपतिमा जिताएर प्रधानमन्त्रीले कांग्रेसको साथ पाउनुहुनेछ ।

 

सम्बन्धित खबरहरु