काठमाडौं । चितवन, कालिका नगरपालिकाको शक्तिखोर बजारदेखि करिब ३ किलोमिटर पर सिद्धी दोभाननजिकै सडक छेउमा खरले छाएको एउटा झुप्रो छ।

राम्ररी बेरबार पनि नगरिएको झुप्रो केही दिनअघि मात्रै बनेको सहजै अनुमान गर्न सकिन्छ।

झट्ट हेर्दा यो झुप्रो अति सामान्य छ। तर जब त्यसको आधार हेर्न थाल्छौं यसमा नदी दोहनको एउटा नमूना देख्न पाइन्छ।

यो सानो झुप्रो करिब ५० टिपर ढुंगामाथि निर्माण गरिएको छ। त्यो ढुंगा आडैमा रहेको कयर खोलाबाट अवैध रूपमा उत्खनन् गरिएको हो। झुप्रोअगाडि भेटिएका श्याम प्रजाले उक्त घर आफ्ना आफन्त पर्शुराम प्रजाले बनाएको बताए। तर कालिका नगरपालिकाका जनप्रतिनिधिहरू भने उक्त झुप्रो ढुंगा लुकाउनकै लागि केही दिन अघिमात्रै तयार गरिएको दाबी गर्छन्।

यो झुप्रोमुनि मात्रै होइन कयर खोला आसपासका जमिन, धेरै घरको आँगन, गल्लीतिर यसैगरी ढुंगा लुकाइएको छ। तीमध्ये ४८० टिपर ढुंगा तथा नदीजन्य पदार्थ कालिका नगरपालिकाले जफत गरेको छ। नगरपालिकाका मेयर विनोद रेग्मीले कयर खोलाबाट अवैध रूपमा उत्खनन् गरेर किनार, नजिकको जमिन तथा अन्य क्षेत्रमा डम्पिङ गरिएका नदीजन्य पदार्थहरू जफत गरिएको बताउनुभयो ।

स्थानीय तथा बाहिरका मान्छेहरूले अवैध रूपमा उत्खनन् गरेर नदीको दोहन गरिरहेको जानकारी पाएपछि हामीले आफ्नो कर्तव्य पूरा गरेका हौं, मेयर रेग्मीले भन्नुभयो, भेटिएका नदीजन्य वस्तुहरू सबै जफत गरिरहेका छौं।

मेयर रेग्मीले वडा नम्बर ८, ९, १० र ११ बाट संकलन गरिएको ढुंगा, गिटी, बालुवा वडा नम्बर ७ को कार्यालय परिसरमा राखिएको बताउनुभयो । त्यसको मूल्य एक करोड रूपैयाँभन्दा बढी पर्छ। नगरपालिकाको कार्यपालिकाको बैठकले जफत गरिएका वस्तुको लिलामका लागि बोलपत्र आह्वान गर्ने निर्णय गरेको छ।

यसबाट आएको पैसा हामी सोही क्षेत्रको शिक्षा, स्वास्थ्य, खानेपानी, नदी तटबन्ध लगायतका क्षेत्रमा खर्च गर्छौं, मेयर रेग्मीले भन्नुभयो । नदीजन्य पदार्थ बिक्री गरेबापत ६० प्रतिशत स्थानीय तह र ४० प्रतिशत प्रदेश सरकारले प्राप्त गर्ने व्यवस्था छ।

नगरपालिकाले यो खोलाको ढुंगा, गिटी, बालुवा बिक्रीका लागि करिब दुई करोड रूपैयाँमा ठेक्कामा लगाएको थियो। त्यसयता यस वर्ष टेन्डर आह्वान गरेको छ। आईई गरेर कयर खोलामा टेन्डर, थाङखोला र बुंगखोलामा अमानतबाट नदीजन्य पदार्थ उत्खनन गरी स्थानीय विकासमा प्रयोग गर्ने तयारी गरेको मेयर रेग्मीले बताउनुभयो ।

प्रक्रियाअघि बढिरहँदा खोलामा ढुंगाहरू सबै चोरेर सकिए भन्ने गुनासो आएपछि हामीले अनुगमनलाई बढाएका थियौं, उहाँले भन्नुभयो, गत पुस २९ गतेदेखि सुरू गरेको अनुगमन र निरीक्षण नियमित चलिरहेको छ।

असारदेखि भदौसम्म खोला, नदीमा पानीको बहाव बढ्ने भएकाले यी तीन महिना यहाँ उत्खनन गर्न पाइँदैन। उत्खननका लागि असोजमा आईई गरेर मंसिरसम्ममा टेन्डर आह्वान गर्ने चलन छ।

उपमेयर विमला तामाङले खोलाको मात्रै नभएर तटबन्धका लागि तारजालीभित्र राखिएको ढुंगा पनि चोरिएको बताउनुभयो ।

तारजाली फोरेर ढुंगा चोर्ने, तारजाली नै बेच्ने गरेको पनि पाइयो,ु उहाँले भन्नुभयो, यो खोलामा विभिन्न निकायबाट परेको बजेटबाट करोडौं खर्चमा तटबन्ध गरिएको थियो। चोरहरूले त्यो पनि बाँकी राखेनन्।ु

नगरपालिकाले नदी उत्खनन गरी डम्पिङ गरिएका ढुंगा धमाधम नियन्त्रणमा लिएपछि विभिन्न क्षेत्रबाट धम्की तथा दबाव आइरहेको उहाँले बताउनुभयो ।

मेयर रेग्मीले चोरीमा संलग्नहरू धम्की दिए पनि प्राकृतिक स्रोतको दोहनलाई नगरपालिकाले परास्त गर्ने बताउनुभयो ।

बेथितिलाई थितिमा ल्याउने कर्तव्य हाम्रो हो। हामी यो कर्तव्य पूरा गरी विधिको शासन चलाउँछौं, रेग्मीले भन्नुभयो, धम्की, दबावको अघि झुक्दैनौं।

 

सम्बन्धित खबरहरु