काठमाडौं । सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेको उद्घोषले राजनीतिमा तरंग छाएको छ ।

रविको फेसबुकको लेखाई र बोलाएको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक अन्यौलमा पर्दा केही तरंग उत्पन्न भएको हो ।

रास्वपा महामन्त्री तथा प्रवक्ता मुकुल ढकालका अनुसार दिउँसो तीन बजे बस्ने बैठक प्राविधिक कारणले डेढ घन्टा पछि पारिएको हो।

बैठक पार्टी कार्यालय बसुन्धारामा बस्दैछ। आजको बैठकमा रास्वपा सरकारमा बस्ने कि नबस्ने भन्नेबारे निर्णय हुन सक्ने बताइएको छ।

‘अहिले जसरी चलिरहेको छ। हामी त्यसरी चल्न सक्दैनौं,’ ढकालले भन्नुभयो, ‘हाम्रो सभापति रवि लामिछाने पनि सम्झौताको राजनीतिमा कति दिन बस्ने भन्नेमा पुग्नुभएको छ। आज हामी महत्वपूर्ण निर्णय गर्छौं।’

महामन्त्री ढकालले पार्टीको राजनीति जसरी चलिरहेको छ त्यसलाई परिवर्तन गर्नुपर्ने पक्षमा आफू रहेको बताउनुभयो ।

केहीबेरअघि रास्वपा सभापति लामिछानेले आफू अब मौन नबस्ने भन्दै सामाजिक सञ्जालमा स्टाटस लेख्नुभएको थियो ।

बिहीबार दिउँसो सामाजिक सञ्जालमा स्टाटस लेख्दै लामिछानेले आफू अभिमन्यु नभएको धारणा सार्वजनिक गर्नुभएको छ ।

अभिमन्यु पौराणिक ग्रन्थ महाभारतका एक पात्र हुनुहुन्छ । अर्जुनका पुत्र अभिमन्यु महाभारतको युद्धमा कौरवहरूको चक्रव्युहभित्र पस्नुभएको थियो तर उहाँलाई चक्रव्युहबाट निस्किने उपाय थाहा थिएन। त्यही भएर उहाँको चक्रव्युहभित्र उहाँको हत्या भएको थियो।

तिनै पात्रलाई उल्लेख गर्दै लामिछानले आफू त्यस्तो नभएको बताउनुभएको थियो ।

उहाँले लख्नुभयो, अब मलाई भन्न बाँकी, गर्न बाँकी, लेख्न बाँकी केही भए भनिहाल्नुहोला, गरिहाल्नु होला, लेखिहाल्नु होला। मेरो मौनता आजसम्मका लागि मात्रै हो। म अभिमन्यु होइन।

सम्बन्धित खबरहरु