काठमाडौं । यही माघ २८ गते सञ्चालन हुने गरी तोकिएको राजपत्राङ्कित तृतीय श्रेणी, शाखा अधिकृत वा सो सरह (अप्राविधिक) पदको परीक्षा स्थगन भएको छ ।

लोकसेवा आयोगले आज विज्ञप्ति जारी गरी सर्वोच्च आदालतबाट जारी भएको अन्तरिम आदेश कार्यान्वयनका लागि आयोगले ती तहका पहिलो र द्वितीय चरणका परीक्षा कार्यक्रम अर्को सूचना नभएसम्मका लागि स्थगन गरिएको जनाएको हो ।

आयोगले राजपत्राङ्कित तृतीय श्रेणी, शाखा अधिकृत वा सो सरह (अप्राविधिक) पदको पहिलो चरणको परीक्षाको मिति यही माघ २८ र द्वितीय चरणका परीक्षा आगामी चैत २१ गतेदेखि सञ्चालन हुने गरी तालिका सार्वजनिक गरेको थियो ।

निर्माणाधीन आयोजनालाई प्राथमिकता दिन मन्त्री खानको आग्रह
खानेपानीमन्त्री अब्दुल खानले नयाँ योजना थालनीभन्दा निर्माणाधीन आयोजनालाई प्राथमिकता दिन आग्रह गर्नुभएको छ ।

नेपाल निर्माण व्यवसायी महासङ्घका अध्यक्ष रवि सिंहको नेतृत्वको टोलीले आज मन्त्रालयमा गरेको भेटमा उहाँले निर्माणाधीन आयोजनामा राज्यको धेरै लगानी भइसकेको भन्दै त्यस्ता आयोजनालाई प्राथमिकता दिन आग्रह गर्नुभएको हो ।

“निर्माणाधीन आयोजनामा राज्यको धेरै लगानी भइसक्ने भएकाले त्यस्ता आयोजना सम्पन्न नगरी नयाँ आयोजना अघि बढाउन हुँदैन”, उहाँले भन्नुभयो । मन्त्री खानले निर्माण कार्यलाई सहज बनाउन कानूनी प्रक्रिया सहज बनाउने तयारीमा सरकार जुटेको बताउनुभयो ।

महासङ्घका अध्यक्ष सिंहले निरन्तरको मूल्यवृद्धिका कारण थलिएको निर्माण उद्योगलाई चलायमान बनाउन सार्वजनिक खरिद ऐन तथा नियमावलीमा व्यवस्था भएबमोजिम २० प्रतिशत मोबिलाइजेसन पेश्की व्यवसायीले पाउनुपर्ने बताउनुभयो ।

उहाँले ऐनमा व्यवस्था भएको रकम नपाउँदा व्यवसायीहरूले ठूलो आर्थिक मार खेप्नुपरेको मन्त्रीसमक्ष बताउनुभएको थियो । भेटमा अध्यक्ष सिंहसहित वरिष्ठ उपाध्यक्ष आङदोर्जे लामा, महासचिव रोशन दाहाललगायत कार्यसमितिको सदस्यको सहभागिता रहेको थियो ।

सम्बन्धित खबरहरु