काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीका सांसद अरुण चौधरीलाई राष्ट्रपतिले आममाफी दिएपछि सरकारमा जाने कि सङ्घर्षलाई यथावत् राख्ने विषयमा पार्टीमा बहस सुरु भएको छ ।

केन्द्रदेखि प्रदेशसम्मको सरकारलाई समर्थन दिए पनि रेशम चौधरी र अरुण चौधरीको रिहाइको माग राख्दै उन्मुक्ति पार्टी बाहिर बसेको छ । प्रजातन्त्र दिवसको उपलक्ष्यमा राष्ट्रपतिले माफी दिएपछि अरुण चौधरी रिहा हुनुहुनेभएको छ ।

पार्टीका संगठन विभाग प्रमुख लक्ष्मण किशोर चौधरीले अहिले उहाँ रिहा हुने निर्णय मात्र भएको तर रिहा नै भएको अवस्था नरहेकाले सबै प्रक्रिया पुरा गरेर आइसकेपछि मात्र पार्टीले आगामी कदमको बारेमा निर्णय लिने जानकारी दिनुभयो ।

‘राष्ट्रपति विद्यादेवी भण्डारीले आमामाफी दिनुभयो, त्यो स्वागतयोग्य कुरा हो । त्यस्तै निर्णय रेशम चौधरीको हकमा पनि गर्नुपर्थ्यो,’ तर त्यस्तो नगरेका कारण आफूहरू अझै दुःखी रहेको उहाँको भनाई छ ।

त्यसैले सांसद अरुण चौधरी बाहिर आइसकेपछि मात्र सरकारको बारेमा निर्णय लिने उहाँले बताउनुभयो । तर, सोही पार्टीका नेता सुरेन्द्र चौधरीले भने अब उन्मुक्ति पार्टी प्रदेश सरकारमा सहभागी हुनुपर्ने बताउनुहुन्छ । उहाँले भन्नुभयो, ‘रेशम चौधरी र अरुण चौधरीको रिहाइ संघीय सरकारसँग सम्बन्धित हो । प्रदेश सरकारसँग सरोकार राख्दैन त्यसैले प्रदेश सरकारलाई समर्थन र विश्वासको मत दिएको छ भने बाहिर बस्नु हुँदैन ।’

उहाँले भन्नुभयो, ‘सरकारलाई समर्थन गरेको छ भने त्यसमा सहभागी हुनुपर्छ नत्र समर्थन फिर्ता लिएर विपक्षमा बस्नुपर्छ । एकातिर सरकारको समर्थन पनि गर्ने अर्कोतिर त्यसको विरोध पनि गर्ने दुइटै काम एकैपटक हुनुहुँदैन ।’ अरुण चौधरी बाहिर आइसकेपछि यसबारेमा पार्टीमा छलफल हुने बताउँदै उहाँले पार्टीलाई अनिर्णयको बन्दी बनाएर राख्न नहुने तर्क राख्नुभयो ।

नागरिक उन्मुक्ति पार्टीका सांसद अरुणकुमार चौधरी माघ १९ गते पक्राउ पर्नुभएको थियो । कैलाली – २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित चौधरीलाई बाँके प्रहरीले पक्राउ गरेको थियो ।

कैलालीको गोराङ्गा खोलाबाट ढुङ्गा लिएर लम्की जाँदै गएको ट्याक्टरमा ३ भदौ २०६६ मा आगजनी भएको थियो । ट्याक्टर धनी मोतीपुरका महादेव बजगाईँले ट्याक्टरमा आगो लगाइदिएको भनी परशुराम चौधरी, अरुण चौधरी र वीरबहादुर चौधरीविरुद्ध उजुरी दिनुभएको थियो । उहाँहरूबाट ८ लाख ७५ हजार रुपैयाँ क्षतिपूर्ति पाउनुपर्ने दाबी गर्नुभएको थियो ।

सोही मुद्दामा सांसद चौधरीमाथि जिल्ला अदालत कैलालीले ६ महिना कैद सजाय र आठ लाख १९ हजार रुपैयाँ भराउने फैसला भएको थियो । त्यो फैसला कार्यान्वयनका लागि उहाँलाई बाँकेको कोहलपुरबाट पक्राउ गरिएको थियो ।

कैलाली कारागारमा रहनुभएका चौधरीले फागुन ३ गते माफी दिन राष्ट्रपतिलाई पत्र लेख्नुभएको थियो । सरकारले सांसद चौधरीलाई रिहा गर्ने प्रक्रिया अगाडि बढाउने निर्णय गर्दै फाइल राष्ट्रपति कार्यालयमा पठाइएको थियो । कैद मिनाहा तथा आममाफी दिने अन्तिम निर्णय राष्ट्रपतिले गर्ने संवैधानिक व्यवस्था छ ।

यता चौधरीले आफ्नो पक्राउविरुद्ध दिपायल उच्च अदालतमा दिएका दुईवटा निवेदन टुङ्गो नलाग्दै सरकारले माफी दिएको भन्दै आलोचना पनि भइरहेको छ । गृह मन्त्रालयले भने मुलुकी अपराध संहिता ऐन, २०७४ बमोजिम कैद मिनाहा गर्ने प्रक्रिया सुरु गरेको हो । रिहाइको प्रक्रिया पुरा गर्न दुई–तीन दिन लाग्न सक्ने जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ ।

 

सम्बन्धित खबरहरु