बझाङ । हुम्लाको सिमिकोट गाउँपालिका ७, पाग्लातुमका राजमल शाही अरु दुई जना साथीहरूसहित भेडा ल्याएर अछामबाट बझाङतर्फ आउँदै हुनुहुन्थ्यो ।

अछामको टुका भन्ने ठाउँबाट बिहान झिसमिसेमै हिँडेका उहाँहरू शनिबार दिउँसो बझाङको खप्तडछान्ना गाउँपालिकाको गडराय प्रवेश गर्नुभयो ।

२ सय ५० भेडाको लस्करको अग्रभागमा राजमल हिँडिरहनुभएको थियो । उहाँका दुई जना साथीहरू भेडाको बथानको पुछारमा हुनुहुन्थ्यो ।

मध्य भागमा दुईवटा कुकुर थिए । खप्तड राष्ट्रिय निकुञ्जको फेदीमा पर्ने गडरायकै काडातोला भन्ने ठाउँ पुग्दै गर्दा राजमल र केही भेडाहरू डाँडो काटेर ओरालो लागिसकेको अवस्था थियो । उहाँका साथीहरू र कुकुर डाँडा पारी आउँदै गर्दा नराम्रो दुर्घटना भोग्नु पर्यो ।

२८ वर्षीय राजमल बाटो छाडेर तलमाथी गएका भेडाहरूलाई बाटोमा फर्काउन खोज्दा आफूभन्दा करिब ६–७ मिटर तलबाट चितुवा गर्जिएको आवाज सुनियो । त्यो उहाँ भएतिर आउन खोज्दै गरेको शाहीले पत्तो पाउनुभयो ।

‘शरीरमा गोलो गोलो बुट्टा थियो । मलाई देख्नेबित्तिकै ह्वाँ गर्दै कराएर झम्टिहाल्यो’ चितुवाको आक्रमणबाट बाँच्न सफल राजमलले भन्नुभयो, ‘भागौँ भनेर अर्कोतिर फर्किन पनि पाएको थिइनँ । सेकेन्डभरमै आएर मेरो दायाँ पाखुरा समात्यो ।’

चितुवाले झम्टेपछि त्यहाँबाट उठाएर आफूलाई ३–४ मिटर तल फालेको र त्यसरी फाल्दा दायाँ पाखुराको मासु लुछिएको उहाँले बताउनुभयो । ‘फालेको ठाउँमा आएर फेरि बायाँ पाखुरामा समात्यो । त्यसपछि घिसार्दै लगेर १२–१४ मिटर तलको खोलामा फाल्यो ।

ढुङ्गा मात्रै भएको भए त त्यहीँ खोलामै मरिहाल्थेँ होला । बाच्न लेखेको रहेछ,’ उहाँले भन्नुभयो । त्यति माथिबाट खोलामा फाल्दा समेत पानी जमेर ताल जस्तो ठाउँमा परेका कारण आफूलाई थप चोट लाग्न नपाएको उहाँले बताउनुभयो । पानीको तालमा परेर चितुवाले नसमातेर केहीबेर वरिपरि फन्को लगाएको उहाँले बताउनुभयो ।

यतिन्जेल उहाँका टाठा कुकुरले मालिकमाथि आक्रमण भएको थाहा पाइसकेका थिए । दुवै कुकुर हुर्रिंदै आएर चितुवालाई आक्रमण गर्न थाले । दुईवटा कुकुर र चितुवाबीच झन्डै १५ मिनेटजति लडाइँ चल्यो ।

‘चितुवा मलाई समाउनलाई आउन खोज्थ्यो । दुवै कुकुर सँगै भएर चितुवालाई झम्टिन्थे । कुनै हालतमा पनि चितुवालाई म नजिक आउन दिएनन्,’ राजमलले भन्नुभयो, ‘दुवै कुकुर पनि घाइते भएका छन् ।

त्यति छिटो कुकुर नपुगेको भए मलाई चितुवाले त्यहीँ मारिहाल्थ्यो । भगवान्को रुपमा कुकुर आएर मलाई बचाए ।’ कुकुरको पछि–पछि आएका उहाँका साथीहरू पनि चितुवा भएको ठाउँमा आइपुगेपछि चितुवा भागेको र साथीहरूले आफ्नो उद्धार गरेको उहाँले बताउनुभयो ।

कुकुरकै कारण राजमलको ज्यान जोगिएकोमा उहाँका परिवारका सदस्य खुसी भएका छन् । ‘कुकुर नभएको भए भाइको ज्यान जोगिने थिएन,’ उहाँका दाइ यज्ञबहादुर शाहीले भन्नुभयो, ‘पशु भएर पनि कुकुरले हाम्रो परिवारको खुसी बचाइदियो । यी कुकुरले हाम्रो परिवारलाई ठूलो गुन लगाए ।’ उहाँले दुवै कुकुर ५ वर्षदेखि भेडासँग हिँड्ने गरेको र चौबिसै घण्टा भेडाको पहरा दिने गरेको बताउनुभयो ।

शनिबार काडातोलाबाट उद्धार गरेर खप्तडछान्नाको स्थास्थ्यचौकीमा प्राथमिक उपचार गरेका शाहीलाई सोमबार मात्रै थप उपचारका लागि जिल्ला अस्पताल बझाङ ल्याइएको छ । उहाँको दुवै हात, पाखुरा र शरीरका विभिन्न भागमा गहिरो चोट लागेको छ ।

हात र पाखुराको हड्डी चर्किर्एको छ । उहाँको अवस्था खतरामुक्त रहेको चिकित्सकहरूले बताएका छन् । ‘चोट पटक धेरै लागेको भए पनि उहाँको अवस्था खतरामुक्त छ,’ जिल्ला अस्पतालका प्रमुख डाक्टर नवराज जोशीले जिल्ला अस्पतालमा नै उहाँको उपचार गरिने बताउनुभयो ।

बझाङमा पछिल्लो समय बस्ती नजिकै चितुवाहरू देखिन थालेका छन् । गत माघ २८ गते जयपृथ्वी नगरपालिकाको नाउली नमादेउ सामुदायिक वनमा थलारा गाउँपालिका ९ का धनबहादुर विष्टका १० वटा बाख्रा चितुवाले आक्रमण गरेर मारेको थियो ।

दिउँसै चितुवाले आक्रमण गर्न थालेपछि स्थानीयहरू घाँस दाउरा गर्न जंगलमा जाँदा त्रसित हुन थालेको खप्तडछन्ना गाउँपालिका ९का स्थानीय मंगलबहादुर खड्काले बताउनुभयो ।

 

सम्बन्धित खबरहरु