काठमाडौं । घरेलु कामदारको रूपमा १० वर्षअघि साउदी अरब पुगेकी झापाकी ४३ वर्षीया टंकमाया आङ्बो चार महिना दूतावासको सेल्टरमा बसेर फागुन १० मा नेपाल आइपुग्नुभएको छ ।

२०१० मा कुवेतमा घरेलु काम गर्न जानुभएकी उहाँ रोजगारदाताबाटै दुई वर्षपछि साउदी पठाइनुभयो । साउदीको आवासीय अनुमति (भिसा) नभएकाले स्वदेश फर्किन नसकेकी उहाँ रोजगारदाता परिवर्तन गर्दै बसिरहनुभएको थियो ।

छोराको मृत्यु भएका कारण स्वदेश फर्किनुपरेपछि उहाँ चार महिनाअघि साउदीको जेद्दास्थित नेपाली महावाणिज्यदूतको कार्यालयमा पुग्नुभएको थियो । ‘सामान्य अवस्था भइदिएको भए म नेपाल जाने थिइनँ, मेरो छोरोको मृत्यु भएको एक वर्षभित्र पुग्नुपर्ने भएकाले जान लगेको हुँ, मेरो श्रीमान्ले दोस्रो विवाह गरिसकेको छ, छोराको काम आफैंले गर्नुपर्नेछ,’ उहाँले भन्नुभयो ।

टंकमायाको साथमा रोजगारदाता थिएन । रोजगारदाताले एउटा ट्याक्सीमा चढाइदिएर महावाणिज्यदूतको कार्यालयमा पठाइदिइएको थियो । उहाँ साउदीको कुन क्षेत्रमा काम गर्नुहुन्थ्यो भन्ने थाहा थिएन ।

‘जेद्दा आइपुग्न झन्डै ६ घण्टा लाग्यो, मलाई पुर्‍याउन मालिक–मालिक्नी दुवै जना उहाँहरूकै गाडीमा आए, उहाँहरूले जेद्दाको डाउनटाउनसम्म ल्याइदिएपछि एउटा ट्याक्सीमा चढाएर मलाई दूतावास पठाइदिनुभयो,’ उहाँले भन्नुभयो ।

भिसाविहीन भएका कामदारलाई काममा लगाउँदा जरिवाना तिर्नुपर्ने नियम साउदीको छ । त्यो नियमबाट बच्नका लागि रोजगारदाताले महावाणिज्य दूतको कार्यालयमा पुर्‍याउन नगएका हुन् । उहाँ जेद्दाबाट झन्डै ५ सय किमि टाढाको स्थानमा काम गर्दै आएको बुझिएको छ ।

सन् २०१० तिर नेपालबाट व्यक्तिगत स्पोन्सर भएपछि घरेलु कामदारमा काम गर्न जान पाइने नीति थियो । वैदेशिक रोजगार विभागले कुवेतस्थित नेपाली दूतावासले करारपत्र प्रमाणीकरण गरिदिएपछि श्रम स्वीकृति दिने गर्थ्यो । तर, साउदी अरवस्थित नेपाली दूतावासले भने घरेलु कामदार ल्याउन अनुमति दिएको थिएन ।

साउदी अरबका रोजगारदाताहरूले कुवेतस्थित घरेलु कामदार आपूर्ति गर्ने म्यानपावर एजेन्सीबाट घरेलु कामदार ल्याउने गर्थ्यो । त्यसरी साउदीको भिजिट भिसामा ल्याएका घरेलु कामदारलाई घरेलु कामदारको भिसामा परिणत नगरी गैरकानुनी हैसियतमा काममा लगाएर राख्ने प्रवृत्ति थियो ।

रोजगारदाताले सिधै नेपाल पठाउन नसक्ने भएपछि उहाँ महावाणिज्यदूतको कार्यालयमा पुग्नुभएको थियो । उहाँले आफूमाथि कुनै पनि रोजगारदाताले आर्थिक शोषण नगरेको बताउनुभयो । सबैबाट पाउनुपर्ने तलब भने पाएको बताउनुभयो ।

दूतावासका अनुसार टंकमाया कुवेतबाट आँउदा केही भेटिएन । कुन बिन्दु र कोसँग साउदी छिरेको हो भनेर पहिचान भएन । त्यसपछि कहाँ–कहाँ काम गरेको भन्ने पनि खुलेन । टंकमाया साउदी भित्रिएको अभिलेख नै फेल नपरेपछि बहिर्गमन (एक्जिट) भिसा पनि लागेन । एक्जिट भिसा पाउनका लागि निकै कठिन भयो ।

महावाणिज्यदूतको कार्यालयले साउदी भित्रिएको अभिलेख पत्ता लगाउन धेरै पटक सरकारी निकायसँग बैठक गर्नुपरेको थियो । जेद्दास्थित मानव संसाधन मन्त्रालयले श्रम भिसामा नआएकाले परराष्ट्रमार्फत जान अनुरोध गर्‍यो ।

‘बहिर्गमन भिसा एवं क्षतिपूर्तिको व्यवस्थाका लागि पटक–पटक साउदी सरकारका विभिन्न निकायहरूमा लेखापढी तथा बैठकहरूमार्फत प्रयास गर्‍यौं, साउदी प्रवेश एवं यहाँको कानुनी हैसियतसम्बन्धी रेकर्ड अभावमा बहिर्गमन भिसा प्राप्त गर्न नसकिएपछि साउदी अरबको परराष्ट्र मन्त्रालयसँग पटक–पटक बैठक तथा छलफल गर्‍यौं,’ कार्यवाहक महावाणिज्यदूत शत्रुधन पोखरेलले भन्नुभयो, ‘निरन्तरको प्रयासपछि टंकमायाको बहिर्गमन भिसा प्राप्त गर्न सफल भयौं ।’

अध्यागमनले भिसा दिएपछि दूतावासको पहलमा गैरआवासीय नेपाली संघ, साउदी अरबले नेपाल फिर्तीका लागि हवाई टिकटको व्यवस्था गरिदिएको थियो ।

 

सम्बन्धित खबरहरु