काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय समितिको बैठक बोलाएको छ ।

बैठक सोमबार बिहान ११ बजे पार्टी कार्यालय बसुन्धारामा बस्ने गरी बोलाइएको हो ।

बैठकमा फेरिएको राजनीति समीकरण, राष्ट्रपति निर्वाचन र चितवन–२ को उपनिर्वाचनका बारे छलफल हुनेछ ।

पुस १० मा बनेको सात दलीय सत्ता गठबन्धन भत्किएर राष्ट्रपति निर्वाचनमा ८ दलीय गठबन्धन बनेको छ ।

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार बन्दा रास्वपाले समर्थन गरेको थियो । सरकारबाट बाहिरिएको रास्वपाले समर्थन भने फिर्ता लिएको छैन ।

राप्रपाले समर्थन फिर्ता लिएसँगै एमाले मुख्यमन्त्रीहरू धरापमा

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले केन्द्रदेखि प्रदेश सरकारहरूबाट बाहिरिने निर्णय गर्दा नेकपा (एमाले) नेतृत्वमा रहेको प्रदेश सरकारहरू धरापमा परेका छन् ।

प्रदेश १, गण्डकी र लुम्बिनी प्रदेशका सरकारहरू राप्रपाको समर्थनमा बनेकाले ती सबै प्रदेशका सरकारहरू अल्पमतमा पर्ने खतरा बढेको हो ।

६० सदस्यीय गण्डकी प्रदशे सभामा राप्रपाका दुई सांसद रहेका छन् । राप्रपासहित ३१ जना सांसदको विश्वासको मत पाउनु भएका मुख्यमन्त्री खगराज अधिकारी राप्रपाले समर्थन फिर्ता गर्नासाथ अल्पमतमा पर्नु हुनेछ ।

गण्डकी प्रदेश सरकारमा स्वास्थ्यमन्त्री रहेका पञ्चराम गुरुङले आज राजीनामा दिने हुनुभएको छ । यस्तै, लुम्बिनी प्रदेशमा पनि राप्रपाले समर्थन फिर्ता लिँदा मुख्यमन्त्री लीला गिरीको सरकार अल्पमतमा पर्नेछ । राप्रपा लुम्बिनीले समर्थन फिर्ता लिने विषयमा केन्द्रसँग सल्लाह गरिरहेको बताएको छ ।

राप्रपाका लुम्बिनी प्रदेशका अध्यक्ष प्रदीप उदयले सरकारबाट बाहिरिने वा बस्ने भन्ने विषयमा आइतबार टुंगो लाग्ने बताउनुभएको छ । यसैगरी, प्रदेश १ मा पनि राप्रपाले समर्थन फिर्ता लिएमा मुख्यमन्त्री हिक्मत कार्कीको सरकार अल्पमतमा पर्ने छ ।

राप्रपाले शनिबार केन्द्रदेखि प्रदेश सरकारहरुबाट बाहिरिने निर्णय गरेको थियो । त्यसलगत्तै राप्रपाका मन्त्रीहरुले राजीनामा दिएका थिए । बाग्मती प्रदेश सरकारमा रहेका राप्रपाका मन्त्रीहरुले पनि सरकार छाडिसकेकाले अन्यत्र पनि सरकारबाट बाहिरिने बुझिएको छ ।

सम्बन्धित खबरहरु