काठमाडौं । गाउँबाट सहर गएर डाक्टर पढेका अधिकांश व्यक्तिहरू आफ्नो गाउँ फर्किन चाहँदैनन्।

फर्के पनि निःशुल्क सेवा गर्दैनन्। तर रोल्पाको परिवर्तन गाउँपालिका–२ राङ्सी भलाकामा जन्मिनुभएका डा. तिलक डाँगीले भने शुक्रबार आफ्नो गाउँ पुगेर गाउँलेहरूको निःशुल्क उपचार गर्नुभयो ।

विशेषज्ञ डाक्टरसहित त्यहाँ पुग्नुभएका डा. तिलकले दिनभरी गाउँलेहरूको स्वास्थ्योपचार गर्नुभयो । जिल्ला अस्पताल रोल्पामा कार्यरत डा. तिलकलाई आफ्नै गाउँमा आएर एक दिन निःशुल्क सेवा गर्न स्थानीय स्वास्थ्य चौकी राङ्सीले आग्रह गरेपछि उहाँले त्यहाँ पुगेर सेवा दिनुभएको हो ।

आफू जन्मेको गाउँमा पुगेर गाउँलेहरूको सेवा गर्न पाउँदा आफूलाई छुट्टै आनन्द प्राप्त भएको डा. तिलकको भनाई छ। आफ्नै गाउँको डाक्टर आउँदै छ भनेपछि गाउँलेहरू पनि खुशी भएर सेवा लिन आउनुभएको थियो ।

‘आफ्नै गाउँको केटो डाक्टर भएकोमा गाउँलेहरू खुशी देखिन्थे’, डा. तिलकले भन्नुभयो, ‘यही हो केटो भन्दै आफन्तहरूले त अङ्गालोसमेत हाले।’

स्वास्थ्य चौकी राङ्सीको आयोजना तथा सत्प्रयास समूहको सहकार्यमा भएको उक्त एक दिने शिविरबाट ५ सय ७५ जनाले स्वास्थ्य सेवा पाउनुभयो । हाडजोर्नी तथा नसा रोग विशेषज्ञ डा. सोम आले नेतृत्वको टोलीमा रोल्पाकै डा. सविना घर्तीले पनि सेवा दिनुभएको थियो ।

शिविरमा भिडियो एक्सरे, डेन्टल र ल्याब सेवासमेत दिइएको थियो। शिविरबाट आर्थिक अभावका कारण उपचार गर्न नसकेकाहरूले शिविरबाट लाभ लिएको वडाध्यक्ष हरिप्रसाद बुढाको भनाई छ। उक्त अवसरमा डा. तिलकले स्थानीय जनसेवा माविका विद्यार्थीहरूलाई आफ्नो अनुभव समेत सुनाउनुभएको थियो ।

सम्बन्धित खबरहरु