काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बिरालोसँग तुलना गर्नुभएको छ ।

अध्यक्ष ओलीले ठूलो कचौंरामा दुध–भात दिएपछि बिरालो छिमेकीको घरमा गएजस्तै प्रधानमन्त्री दाहाल अन्यत्रै गएको बताउनुभयो ।

आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले प्रधानमन्त्री दाहालले आफ्नो पदलाई नै सर्वोपरी राख्ने गरेकाले जे पनि गर्ने जिकीर गर्नुभयो । उहाँले चीनतिर पनि बाटो खुलाउँदा, मिचिएको भूमि फिर्ता ल्याउने कामका लागि संविधान नै संशोधन गर्दा, देश र जनताको पक्षमा काम गर्न आफू र आफ्नो पार्टी खेदिएको पनि दोहोर्‍याउनु भयो ।

त्यस अवसरमा ओलीले लिपुलेक, लिम्पियाधुरा र कालापानी समेटिएको नक्साका लागि संविधान संशोधन गर्दा वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी नभएको भए त्यसलाई प्रमाणिकरण गर्ने कुरा सम्भव हुने थिएन समेत भन्नुभयो ।

उहाँले राष्ट्रपति एमालेका उम्मेदवार सुवाष नेम्वाङलाई मतदान गर्न पनि संघ र प्रदेशका सबै सांसदहरुलाई आह्वान गर्नुभयो । राष्ट्र र जनताको पक्षमा काम गर्ने पार्टी एमाले मात्रै भएकाले एमालेको राष्ट्रपतिको उम्मेदवारलाई जिताउनुपर्ने ओलीको भनाई थियो ।

अध्यक्ष ओलीले प्रधानमन्त्री दाहालले आफूलाई छक्याएको, धोका दिएको समेत बताउनुभयो । प्रधानमन्त्री दाहालले सहिद, घाईते परिवारसमेत धोका दिएकाले आफूलाई धोका दिनु कुनै ठूलो कुरा नभएको पनि बताउनुभयो । उहाँले प्रधानमन्त्री दाहालले आफूलाई धोका दिएर मिलेर खान अर्कातिर लागेको आरोप लगाउनुभयो ।

ओलीले दाहालले बेवास्ता गरेका जनयुद्धका घाईतेहरुलाई आफ्नो पार्टीले उपचार गर्ने भन्दै आउन पनि आग्रह गर्नुभयो । आफ्नो पार्टीले हेल्थ डेस्कनै राखेर उनीहरुलाई सकेको उपचार गर्ने उहाँको भनाई थियो ।

 

सम्बन्धित खबरहरु