काठमाडौं । दक्षिणी इटालीको तटीय क्षेत्रमा डुङ्गा पल्टिँदा कम्तीमा ६० आप्रवासीको मृत्यु भएको छ । मृत्यु हुनेमा १२ बालबालिका रहेका छन् । त्यहाँ दर्जनौं मानिस बेपत्ता भएका खबर आइरहेका छन् । इटालीको समाचार एजेन्सी आन्साले मृत्यु हुनेमा केही महिनाको बालक पनि रहेको बताएको छ ।

टर्कीबाट आप्रवासी कामदार लिएर पुगेको डुङ्गा समुद्रको बीचमा दुई टुक्रा भएको बताइएको थियो । क्यालाब्रियाको क्रोटोन सहरको तटमा डुङ्गा रोकिन लाग्दा दुर्घटना भएको हो । इटालीका राष्ट्रपति सर्जियो माटारेल्लाका अनुसार डुङ्गामा सवार धेरै मानिस खराब अवस्थाबाट बच्न इटालीतर्फ गइरहेका थिए ।

डुंगामा अफगानिस्तान, पाकिस्तान, सोमालिया र इरानका नागरिक थिए । प्रशासनले खोजी तथा उद्धार कार्य जारी राखेको छ । यो डुंगामा कति जना सवार थिए भन्ने अहिलेसम्म थाहा हुन सकेको छैन । तर राहत र उद्धार कार्यमा संलग्न व्यक्तिहरूले समाचार एजेन्सी एएफपीलाई उक्त डुङ्गामा २०० भन्दा बढी यात्रु रहेको बताएका छन् ।

सोकारण कम्तीमा ६० जना अझै बेपत्ता हुन सक्छन् । सोही क्रममा घटनास्थलमा पुगेका इटालीका गृहमन्त्री माटेओ पियानतेडोसीले कम्तीमा ३० जना अझै बेपत्ता रहेको बताए । कोस्टगार्डले ८० जनाको जीवितै उद्धार गरिएको जनाएको छ ।

धेरै मानिसहरु कुनै न कुनै रुपमा पौडी खेलेर भाग्न सफल भएका छन् । हरेक वर्ष ठूलो संख्यामा मानिसहरू गरीबी र युद्धबाट भागेर अफ्रिकी देशहरूबाट गोप्य रूपमा इटाली पुग्छन् । जसकारण डुङ्गा डुब्दा धेरै पटक यस्ता दुर्घटना भएका छन् ।

सम्बन्धित खबरहरु