काठमाडौं । इटाली नजिकैको समुद्री किनारमा डुंगा दुर्घटना हुँदा ६२ जनाको मृत्यु भएको पुष्टि भएको छ ।

२ सय जनाजति आप्रवासी तथा शरणार्थीहरू बोकेको काठको डुंगा आइतबार बिहान चट्टानमा ठोक्किएर दुर्घटना भएको थियो। अहिलेसम्म त्यहाँ रहेका नेपालीहरु यो घटनामा नपरेको त्यहाँ स्थित गैर आवसीय नेपाली संस्थाका प्रतिनिधिले जनाएका छन् ।

क्यालेब्रिया क्षेत्रमा भएको उक्त दुर्घटनामा हालसम्म ६२ जनाको शव निकालिएको बीबीसीले जनाएको छ । यद्यपि १ सय जनाभन्दा धेरैको मृत्यु भएको आकलन गरिएको छ । मृत्यु हुनेमा १२ जना बालबालिका पनि रहेको बताइएको छ ।

अधिकांश यात्रुहरू अफगानिस्तान, पाकिस्तान, सोमालिया, सिरिया, इराक र इरानबाट गएका थिए । दुर्घटनास्थलबाट ८० जना यात्रुलाई जीवीत उद्धार गरिएको तट रक्षकहरूले जनाएका छन् ।

डुंगामा रहेका अधिकांश यात्रु पाकिस्तानी रहेको विभिन्न अन्तर्राष्ट्रिय मिडियाले जनाएका छन् । दुर्घटनापछि पाकिस्तानी प्रधानमन्त्री शेहबाज शरिफले मृत्यु हुनेमध्ये दुई दर्जनभन्दा धेरै पाकिस्तानी परेको बताएका छन् ।

दुर्घटनापछि इटालीयन प्रधानमन्त्री जर्जिया मेलोनीले उक्त घटनाप्रति दुःख व्यक्त गर्दै मानव बेचबिखनको क्रममा यस्तो दुर्घटना भएको आरोप लगाएकी छन् ।

आइतबार एक विज्ञप्ति जारी गर्दै प्रतिकूल मौसममा २० मिटर लामो डुंगामा २०० जना सवार गराएर यात्रा गराउनु अपराध भएको उनले बताएकी छन् । साथै उनले यस घटनालाई अमानवीय भन्दै टिप्पणी गरेकी छन् ।

इटालीयन आन्तरिक मामिला मन्त्री मात्तेओ पियान्तेदोसीले भने यस्ता यात्रालाई निरुत्साही गर्नुपर्ने बताएका छन् । अफ्रिका र दक्षिण एसियाका थुप्रै देशबाट भूमध्य मार्ग भएर यसै गरी यूरोप छिर्ने क्रममा हरेक वर्ष डुंगा दुर्घटना हुँदा ठूलो संख्यामा यात्रुहरूको मृत्यु हुने गरेको छ ।

यस्तो जोखिमयुक्त यात्रा अवैध मानिए पनि विभिन्न समूहले अफगानिस्तान, पाकिस्तान लगायत अन्य अफ्रिकी देशका नागरिकलाई आप्रवासीको रुपमा यूरोप प्रवेश गराउने गरेका छन् । आप्रवासी सम्बन्धी अन्तर्राष्ट्रिय संगठनका अनुसार उक्त मार्गबाट यात्रा गराउँदा २०१४ यता भएका दुर्घटनामा २० हजार ३ सय ३४ जनाको मृत्यु भइसकेको छ ।

 

सम्बन्धित खबरहरु