काठमाडौं । राष्ट्रपति पदका उम्मेदवारको अन्तिम नामावली प्रकाशित भएको छ । मंगलबार अपरान्ह राष्ट्रपति निर्वाचनका लागि निर्वाचन आयोगले रामचन्द्र पौडेल र सुवास चन्द्र नेम्वाङको अन्तिम नामावली प्रकाशन गरेको हो ।

पौडेल पूर्व सभामुख एवम् नेपाली कांग्रेसका वरिष्ठ नेता र नेम्वाङ पूर्व सभामुख एवम् नेकपा (एमाले) उपाध्यक्ष हुनुहुन्छ । आयोगका अनुसार फागुन १६ गते मंगलबार बिहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म उम्मेदवारको नाम फिर्ता लिने समय तोकिएको थियो । तर सो समयभित्र कुनै पनि उम्मेदवारले नाम फिर्ता लिएनन् ।

तनहुँ, ब्यास नगरपालिका २, अमरापुरीका पौडेल ७८ वर्ष रहनुभएको विवरण आयोगको सूचनामा उल्लेख छ । यसैगरी, उहाँको बुवा दुर्गाप्रसाद पौडेल, आमा ऋषि माया पौडेल र पत्नी सबिता पौडेल हुनुहुन्छ । इलामको इलाम नगरपालिका ७, सुन्तलाबारीका नेम्वाङ ७० वर्ष उमेरको हुनुहुन्छ । उहाँको बुवा राम बहादुर नेम्वाङ, आमा अपिन्द्र कुमारी नेम्वाङ र श्रीमती विशाल नुमा नेम्वाङ हुनुहुन्छ ।

सम्बन्धित खबरहरु