काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले एमाले र पूर्ववर्ती नेकपामा रहेका शीर्ष नेताहरुलाई एमालेमा सामेल गराउनेगरी कदम चाल्न थाल्नुभएको छ ।

यही कसरतको थालनीमा उहाँले कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियानका अध्यक्ष वामदेव गौतमसँग भेटवार्ता गर्नुभएको छ। नेता गौतमलाई अध्यक्ष ओलीले उहाँकै निवास भैंसेपाटी पुगेर भेटवार्ता गर्नुभयो ।

भेटमा ओलीले आफूलाई एमालेमै फर्किन आग्रह गरेको नेता गौतमले जानकारी दिनुभयो ।

ओलीसँगको भेटबारे गौतमले भन्नुभयो, ‘उहाँले मलाई तपाईंजत्तिको पार्टीको योगदान गरेको व्यक्ति अब बाहिर बसेर हुँदैन। पुरानै घरमा फर्किनुस् भन्नेर आग्रह गर्नुभयो।’

ओलीले पार्टीमा फर्किन प्रस्ताव गरेपछि आफूले एमालेमा रहेको ७० बर्षे उमेरहद हटाउनमा भनेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘मैले उहाँलाई एमालेमा रहेको अहिलेको ७० बर्षे उमेरहद हटाउनुस् भने। उमेरहद अध्यक्ष र महासचिवमा राख्नुस्। तर, अरुमा हटाउनुुस् भनेको छु। मेले प्रस्तावमा उहाँ सकारात्मक नै हुनुहुन्छ भन्ने बुझेको छु।’

उहाँले एमालेमा फर्केपनि अब अध्यक्ष महासचिव केही हुने पक्षमा नरहेको प्रष्ट पार्नुभयो । भेटमा ओलीले राष्ट्रपतिमा सुवास नेम्वाङलाई भोट हाल्नुहुन्छ भन्नेमा विश्वस्त रहेको बताएको उहाँको भनाइ छ।

साविक नेकपा विभाजनपछि निष्क्रय रहनुभएका गौतमले अहिले कम्युनिष्ट एकता अभियान चलाउनुभएको छ । अहिले उहाँले त्यसलाई पार्टीमा रुपान्तरण गर्नुभएको छ ।

सम्बन्धित खबरहरु