काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ मा नेपालले यूएईविरुद्ध पहिलो जित हात पारेको छ । नेपालले यूएईलाई ४२ रनले हराएको हो ।

नेपालले दिएको २३० रनको लक्ष्य पछ्याएको यूएई ४५ ओभरमा १८७ रन बनाउँदै अलआउट भएको हो ।

नेपालले यसअघिका तीन खेलमा दुईमा जित र एकमा हार व्यहोरेको थियो । नेपाल यूएईसँगै पराजित भएको हो । २०८ रनको लक्ष्य पछ्याएको नेपाल खराब ब्याटिङ गर्दै १३९ रनमा अलआउट भएको थियो ।

यूएईका लागि सर्वाधिक रन बनाउने आसिफ खानको विकेट दीपेन्द्रसिंह ऐरीले लिएपछि नेपाल खेलमा फर्किएको हो । ११५ बल सामना गरेका खानले २ चौका र ३ छक्काको सहयोगमा ८२ रन बनाए । ४१.२ ओभरमा खानलाई यूएईको ७औं विकेटका रूपमा ऐरीले आउट गरेका हुन् ।

त्यसलगत्तै ऐरीले ४१.३ ओभरमा कार्तिक मैय्यप्पनलाई यूएईको ८औं विकेटका रूपमा आउट गरे । त्यस्तै आर्यन लाक्राले ५० रन बनाए । त्यस्तैगरी वृत्य अरविन्दले १३ रन बनाए । अन्य ब्याटरले भने कमजोर प्रदर्शन गरे ।

नेपालका लागि सोमपाल कामी र दीपेन्द्रसिंह ऐरीले ३–३ विकेट लिए । त्यस्तै सन्दीप लामिछाने, करन केसी र आरिफ सेखले १–१ विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५०ओभरमा ८ विकेट गुमाउँदै २२९ रन बनाएको थियो । ६८ रन बनाउँदा ५ विकेट गुमाएर संकटमा परेको नेपाली टोलीलाई भीम सार्कीले ७० रन प्रहार गर्दै इनिङ्स सम्हालेका थिए ।

उनले छैटौं विकेटका लागि सन्दीप लामिछाने र सातौं विकेटका लागि आरिफ शेखसँग ५६–५६ रनको साझेदारी गरेका थिए । त्यस्तै आरिफ शेखले नटआउट ४३ रन बनाए । ५६ बल सामना गरेका उनले २ चौका र १ छक्का प्रहार गरे । लामिछानेले २७ रन बनाए । करन केसीले ११ बल खेल्दै १७ रन बनाए । त्यस्तै नेपालका लागि दोस्रो एकदिवसीय अन्तर्राष्ट्रिय खेलेका प्रतीश जिसीले ११ रन बनाए ।

ओपनर आसिफ शेख ६ र ज्ञानेन्द्र मल्ल ११ रनमा आउट भए। कुशल मल्लले ३२ रन बनाउन बाहेक अन्य टप अर्डर ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । कप्तान रोहित पौडेलले १ र दीपेन्द्रसिंह ऐरी २ रनमा आउट भए ।

यूएईका लागि जुनैद सिद्दीकीले ३ तथा रोहन मुस्तफा, आर्यन लाक्राले २–२ विकेट लिए । यूएईलाई हराएसँगै नेपाल अंकतालिकाको शीर्ष तीनको सम्भावना कायमै रहनेछ । यूएईले पीएनजीसँगका दुवै खेल गुमाएपछि त्यसको फाइदा नेपाललाई पनि पुगेको छ । आइतबार भएको खेलमा यूएई पीएनजीसँग पाँच विकेटले हारेको थियो ।

नेपालको ३२ खेलबाट ३२ अंक भएको छ । यूएईमाथि जित हात पारेसँगै नेपाल तालिकाको पाँचौं स्थानमा उक्लिएको छ । यूएईपछि नेपालले घरेलु मैदानमा फागुन २५ देखि यूएई र पीएनजीसँगै लिग टुको अन्तिम सिरिज खेल्नेछ । बाँकी ४ मध्ये २ खेल जिते नेपालको ओडीआईले निरन्तरता पाउनेछ ।

 

सम्बन्धित खबरहरु