काठमाडौं । व्यवसायी दुर्गा प्रसाईले राजसंस्था पुनर्स्थापना गर्ने भन्दै आन्दोलनको कार्यक्रम घोषणा गर्नुभएको छ ।

राष्ट्र, राष्ट्रियता, धर्म–संस्कृति र नागरिक बचाऊ महाअभियानको नाममा मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी उहाँले यही फागुन २० गतेबाट राजसंस्था पुनर्स्थापना गर्नका लागि भन्दै आन्दोलनको कार्यक्रम घोषणा गर्नुभएको हो ।

नयाँ बानेश्वरस्थित संघीय संसद् भवनअगाडि प्रेम आचार्यले आत्मदाह गरेको स्थानमा आन्दोलनका कार्यक्रम सुरु गर्ने जानकारी दिनुभयो । उहाँले आफ्ना यी माग पूरा नहुन्जेलसम्म आन्दोलन जारी रहने बताउनुभयो ।

आन्दोलनमा आफूले ०४७ सालको संविधान लागू गर्नुपर्ने, हिन्दू राष्ट्र कायम गर्नुपर्ने, कर्मचारी र तल्लो तहका सुरक्षाकर्मीको मासिक तलब कम्तीमा एक लाख ५० हजार पुर्‍याउनुपर्नेलगायतका १५ बुँदे माग प्रस्तुत गर्नेसमेत बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘हाम्रा यी माग पूरा नहुन्जेलसम्म आन्दोलन जारी रहन्छ। यसमा सहमति जनाउन पूर्वराजा ज्ञानेन्द्र शाह पनि आउनुहुन्छ। यो लडाइँ भनेको राष्ट्रका लागि हो, राष्ट्रियताका लागि हो। व्यवस्था बदल्ने लडाइँ हो। हामीले धर्म खोजेको हो, राजा खोजेको हो।’

 

सम्बन्धित खबरहरु