बुटवल­ । रुपन्देहीको सैनामैनामा झारफुक गर्ने बहानामा चरम यातना दिँदा एक किशोरीको मृत्यु भएको छ ।

रुपन्देहीको सैनामैना नगरपालिका–१० झिमझिमे की १४ की सीता ज्ञवालीको शनिबार राति मृत्यु भएको हो ।

इलाका प्रहरी कार्यालय सालझण्डीका अनुसार सीता ५ दिनदेखि कान दुखेर सिकिस्त भएकी थिइन् । घरेलु उपचारबाट निको नभएपछि परिवारले थप उपचारका लागि भन्दै शनिबार स्थानीय बेमतनीस्थित झाक्री सोनिया रेश्मीकोमा लगेका थिए ।

रेश्मीले बोक्सी लागेको र त्यसलाई हटाउने भन्दै किशोरीलाई पानी खन्याउने र कुट्ने, लतार्नेलगायत चरम यातना दिएकी थिइन् । यातना सहन नसकेर शनिबार राति साढे ९ बजे किशोरीको मृत्यु भएको थियो ।

झाक्री बताउने रश्मीले किशोरीलाई चरम यातना दिँदा केहीले भिडियो खिचेर सामाजिक सञ्जालमा राखेका थिए । मृत्युपछि पनि किशोरीलाई शनिबार राति नै घाटमा लगेर अन्तिम संस्कार गरेका थिए ।

झारफुकको बहानामा झाक्रीको कुटाइबाट मृत्यु भएको सूचनाको आधारमा इलाका प्रहरी कार्यालय सालझण्डीले सोमबार अभियुक्त सोनिया रेश्मीलाई पक्राउ गरेको छ । उनलाई ज्यान मुद्दा दर्ता गरी रुपन्देही जिल्ला अदालतबाट दिन ७ म्याद थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले बताउनुभयो ।

सम्बन्धित खबरहरु