काठमाडौं । भारतको तमिलनाडुमा बिहार र नेपालका मजदुरमाथि कुटपिट भइरहेको अफवाह फैलिएपछि त्यहाँ रहेका नेपाली कामदारहरुले पनि असुरक्षित महसुस गरेको बताएका छन् ।

तमिलनाडुमा नेपालीलाई पनि हिन्दीभाषीका रूपमा व्यवहार हुने भएकाले आफूहरू त्रासमा बसिरहेको त्यहाँ रहेका केही नेपाली कामदारहरुले बताएका बीबीसीले जनाएको छ ।

भारतमा रहेको नेपाली राजदूतावासले तमिलनाडुमा रहेका नेपाली नागरिकसँग निरन्तर सम्पर्कमा रहेको र त्यहाँ कुनै अप्रिय घटना भए दूतावासलाई तुरुन्तै जानकारी गराउन अनुरोध गरेको बताएको छ ।

पछिल्ला केही दिनमा तमिलनाडुमा कार्यरत बिहारका मजदुरमाथि कुटपिट भएका विवरण सामाजिक सञ्जालबाट सार्वजनिक भइरहेका छन् ।

तर भारतीय सञ्चारमाध्यमहरुले पुराना भिडियो सामाजिक सञ्जालमा राखेर अफवाह फैलाएको दाबी गरेका छन् । सार्वजनिक भइरहेका भिडियोलाई लिएर बिहार र तमिलनाडु राज्यका मुख्यमन्त्रीबीच कुराकानी पनि भएको बीबीसी हिन्दीले जनाएको छ ।

तमिलनाडु राज्यका विभिन्न ठाउँमा नेपाली सुरक्षा गार्ड, निर्माण, होटल तथा रेस्टुराँ, पसल तथा विभिन्न उद्योगमा पनि कार्यरत रहेका छन् । एकिन तथ्याङ्क नभए पनि त्यहाँ हजारौँ नेपाली मजदुरहरु रहेका प्रवासी नेपाली सङ्घसंस्थाहरुको भनाइ छ ।

 

सम्बन्धित खबरहरु