काठमाडौं । उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ–उनकी बहिनी किम यो जोङले मङ्गलबार आफ्नो देश अमेरिका र दक्षिण कोरियाविरुद्ध कडा र तीव्र कारबाही गर्न तयार रहेको चेतावनी दिएकी छन् ।

यो बयान अमेरिकाले आणविक सक्षम बी––२ बमवर्षक उडाएको एक दिन पछि आएको हो । सोमबार संयुक्त राज्य अमेरिका र दक्षिण कोरियाले संयुक्त अभ्यासका क्रममा कोरियाली प्रायद्वीपमा बी–५२ बमवर्षक उडाएका थिए । दुवै देशका सेनाले यसै महिनाको अन्त्यमा सबैभन्दा ठूलो अभ्यास पुन: सुरु गर्ने तयारी पनि गरेका छन् ।

समाचार एजेन्सी एपीका अनुसार किम यो जोङले आफ्नो देशले कस्तो कारवाही गर्न सक्छ भन्ने आफ्नो बयानमा विस्तृत रूपमा बताएकी छैनन् । यद्यपि, उत्तर कोरियाले अमेरिका र दक्षिण कोरियाको सैन्य अभ्यासको जवाफमा प्राय: क्षेप्यास्त्र परीक्षण गर्ने जनाएको छ ।

किम यो जोङले विज्ञप्तिमा भनिन्, ‘हामी अमेरिकी सेना र दक्षिण कोरियाको कठपुतली सेनाको गतिविधिमाथि नजर राख्छौं र छिटो र बलियो जवाफ दिन सधैं तयार छौं ।’ यस्तो अभ्यासलाई नजरअन्दाज गर्न नसकिने उनको भनाइ छ । किम यो जोङ उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनकी एक्ली र कान्छी बहिनी हुन् ।

सन् १९८७ मा जन्मिएकी यो जोङ किमभन्दा चार वर्ष कान्छी हुन् । दुबैले स्विजरल्याण्डको बर्नमा सँगै पढेका थिए । उनी २०१८ मा चर्चामा आएकी थिइन्, जब उनी दक्षिण कोरिया भ्रमण गर्ने किम वंशको पहिलो सदस्य भइन् । उनी शीतकालीन ओलम्पिक खेल्न जाने प्रतिनिधिमण्डलको सदस्य थिइन् ।

यस ओलम्पिकमा उत्तर र दक्षिण कोरिया संयुक्त टोलीको रूपमा मैदानमा उत्रेका थिए । उनले आफ्नो दाइसँग अन्तर्राष्ट्रिय सम्मेलनको लागि पनि काम गरेकी छन् । जसमा दक्षिण कोरियाका पूर्वराष्ट्रपति मुन जे इन, चिनियाँ राष्ट्रपति सी जिनपिङ र अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको भेटघाट पनि समावेश छ ।

सम्बन्धित खबरहरु