रौतहट । एक साताअघि चन्द्रपुर नगरपालिका–५ स्थित राजपेडा गाउँदेखि पूर्वको रामलाल बृन्दावन साझेदारी वन क्षेत्रमा सिकारीले थापेको पासोमा पारेर पाटे बाघ मरेको हल्ला फैलियो ।

तत्कालै वन कार्यालयको टोली बाघ खोज्न जंगल पस्यो । सिकारीले बाघ मारेर गाडेको हल्लापछि वन, प्रहरी, निकुञ्ज र सेनाको टोलीले निरन्तर खोजी गरिरहेको छ ।

राजपेडाको जंगलमा पाटेबाघको आक्रमणबाट चन्द्रपुर–८ स्थित बेतौना घर भएका भुवन माझी घाइते हुनुभएको थियो । तर पासोमा परेको बाघले हो वा बाहिरको भन्ने अहिलेसम्म यकिन हुन सकेको छैन ।

बाघले आक्रमण गरेपछि लडेको र बाँकी केही थाहा नपाएको उहाँले प्रहरीसमक्ष बताउनुभएको छ । सुरुमा उहाँले रूखबाट खसेर घाइते भएको भन्दै चन्द्रपुर अस्पतालमा उपचार गराउनुभएको थियो ।

त्यहाँ उपचार नभएर वीरगन्जस्थित भवानी अस्पतालमा पुर्‍याइएका उहाँले पछि बयान फेर्नुभयो । उहाँ सिकारी हो वा के कति कारणले जंगल गएको भन्ने खुल्न बाँकी रहेको वन कार्यालयले जनाएको छ । वनकै निगरानीमा माझीको वीरगन्जमा उपचार भइरहेको छ ।

डिभिजन वन प्रमुख सुनिलकुमार कर्णले बाघ मारेको हल्ला फैलिएकै दिनदेखि लगातार खोजी गरिरहेको बताउनुभयो । ‘अहिलेसम्म फेला परेको छैन । बाघ मारेको हो वा होइन भन्ने यकिन हुन सकेको छैन,’ उहाँले भन्नुभयो ।

वनको टोलीपछि प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रलगायत सुरक्षा अधिकारीको टोलीसमेत बाघ खोज्न पुगेको थियो । त्यसको भोलिपल्ट इलाका प्रहरी कार्यालय र वनको टोली जेसीबी लिएर बाघ खोज्न जंगल गएको थियो । सम्भावित ठाउँमा दिनभर खोज्दा बाघ जिउँदो वा मृत फेला नपरेको इलाका प्रहरीका डीएसपी एकनारायण कोइरालाले बताउनुभयो । ‘हामीले शंकास्पद ठाउँमा जेसीबीको मद्दतले खनेर हेरेका थियौं,’ उहाँले भन्नुभयो, ‘तर फेला परेन ।’

दुई दिनअघि पर्सा राष्ट्रिय निकुञ्ज र सेनाको टोली चेतनगरको जंगलमा खोजीका लागि पुगेको थियो । वन र निकुञ्जको टोलीले दिनभर खोजी गर्दासमेत मारेर गाडेको भनिएको बाघ भेट्टाएको छैन । पछिल्लो समय रौतहटको वनभित्र वन्यजन्तुको संख्या बढेको छ ।

यसको संरक्षण र निगरानीका लागी डिभिजन वनले विभिन्न स्थानमा जडान गरेको क्यामेरा ट्र्यापमा पाटे बाघ, भालु, बँदेल, हरिण, चितुवालगायत वन्यजन्तु कैद भएका थिए । क्यामेराकै मद्दतले रौतहटको राष्ट्रिय वनभित्र ५ वटा पाटेबाघ भएको तथ्य पत्ता लागेको छ ।

तुरतुरे, लमाहा, सत्तेरी, गैंडाटार, जुडिबेला क्षेत्रमा बाघको गतिविधि बढेको भन्दै वनले प्रवेशमा रोक लगाउँदै आएको छ । तुरतुरे क्षेत्र एक दशकदेखि बाघको बासस्थानका रूपमा परिचित छ । यहाँ बाक्लो जंगलका साथै घोल र साना नदीछेउमा अग्ला डिल छन् । डिलको आडैमा बाघको ओडार छ ।

यहाँको वन वन्यजन्तुको बासस्थानका रूपमा विकसित हुँदै गएको पाइएको छ । पर्याप्त घोल, झाडी र सिमसारका कारण वन्यजन्तु बढेको हो । बेलाबेलामा चितवन राष्ट्रिय निकुञ्जबाट गैंडा, हात्ती, बाघ यही क्षेत्रमा आएर बस्ने गरेको छ । वन्यजन्तुको संख्या बढेपछि चोरीसिकारी नियन्त्रणमा लागेको वनप्रमुख कर्णले बताउनुभयो ।

‘पछिल्लो समय सिकारीको आक्रमणले वन्यजन्तु संरक्षणमा सकस परेको छ,’ उहाँले भन्नुभयो, ‘चोरीसिकार नियन्त्रण गर्न सबै लाग्नुपर्छ । वन एउटैले मात्र सम्भव छैन ।’

 

सम्बन्धित खबरहरु