काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले राष्ट्रपति निर्वाचनमा मतदान नगर्ने निर्णय गरेको छ ।

बुधबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले राष्ट्रपति निर्वाचनको मतदानमा सहभागी नहुने निर्णय गरेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिनुभयो ।

राष्ट्रपति निर्वाचन भोलि हुँदैछ । कांग्रेसका रामचन्द्र पौडेल र एमालेका सुवासचन्द्र नेम्वाङ उम्मेदवार हुनुहुन्छ ।

राष्ट्रपति निर्वाचनमा संघीय सांसद र प्रदेशसभा सदस्यहरुले मतदान गर्नेछन् । राप्रपाका १४ जना संघीय सांसद र २८ जना प्रदेशसभा सदस्य हुनुहुन्छ ।

पार्टी कार्यालय, धुम्बाराहीमा बसेको बैठकमा बोल्ने कार्यसम्पादन समितिका अधिकांश सदस्यले तटस्थ बस्नुपर्ने धारणा राखेका थिए । पार्टीले संवैधानिक राजसंस्थाको मुद्दा उठाएकाले राष्ट्रपति निर्वाचनमा भाग लिन नहुने उहाँहरुको तर्क थियो ।

 

सम्बन्धित खबरहरु