काठमाडौं । नेपाल आयल निगमले डिजेलमा मिसावट गर्ने चार वटा ट्यांकरका चालकलाई बर्खास्त गरेको छ ।

मंगलबार बसेको निगम व्यवस्थापन बैठकले आजीवन इन्धन ढुवानीमा संलग्न हुन नपाउने गरी चार वटा ट्यांकरका चालक र सहचालकलाई बर्खास्त गरेको हो ।

डिजेलमा मिसावट गरेर निगमलाई क्षति गराउने ८ जना ट्यांकर चालक र सहचालकलाई बर्खास्त गर्दै आजीवन ढुवानीमा प्रतिबन्ध लगाएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले बताउनुभयो ।

ट्यांकर नम्बर ना ७ ख १५०७ का चालक रचित भट्टराई र सहचालक प्रज्वल बस्नेत, मे १ ख २१५१ नम्बरका ट्यांकर चालक डिल्लीराम भट्टराई र सहचालक राजेश मण्डल, ना ७ ख ६९७४ का चालक विनोद भट्टराई र सहचालक प्रदीप क्षेत्री र मे १ ख २१९४ नम्बरको ट्यांकर चालक विकीरण राई र सहचालक मनोज कुमाललाई बर्खास्त गरिएको निगमले जनाएको छ ।

उपाध्यायकाअनुसार ती चारवटै ट्यांकर ६ महिनासम्म ढुवानीमा प्रयोग गर्न नपाउने निर्णय भएको छ । ती ट्यांकरका सम्बन्धमा अझै छानबिन चलिरहेको प्रवक्ता उपाध्यायले बताउनुभयो । ‘मिसावटका कारण एक करोड ४० लाख रुपैयाँ बराबरको डिजेल नष्ट भएको छ,’ उपाध्यायले भन्नुभयो, ‘प्रहरी र निगमको प्राविधिक टोलीले छानबिन गरिरहेका कारण थप कारबाही हुनेछ ।’

डिजेल ढुवानी गर्ने ट्यांकर धनीलाई क्षति भएको मूल्य बराबरको डिजेलको क्षतिपूर्ति भराउने लगायतका अन्य कारबाही भने प्रक्रियागत रुपमा हुने निगमले जनाएको छ ।

निगमका अनुसार मिसावटको डिजेल ढुवानीमा प्रयोग भएका मे १ ख २१५१ नम्बरको ट्यांकर माता पाथीभर आयाल सप्लायर्स हो भने मे १ ख २१९४ नम्बरको ट्यांकर नवदुर्गा आयल स्टोर्सको हो । यस्तै ना ७ ख १५०७ को ट्यांकर उत्तर गंगा यातायात कम्पनीको नाममा दर्ता छ भने ना ७ ख ६९७४ को ट्यांकर रिजाल आयल सप्लायर्स एण्ड ट्रेडर्स कम्पनीको रहेको निगमले जनाएको छ ।

गत १० फागुनमा झापास्थित चारआली कार्यालयमा भारतको सिलिगुडीबाट डिजेल लिएर आएका ती ट्यांकरको डिजेलमा घनत्व कम भएको प्रारम्भिक अनुसन्धानबाट देखिएको थियो । निगमले ८२० देखि ८५० किलो प्रतिघनमिटर घनत्वलाई मात्रै मान्यता दिन्छ । तर, चारआलीमा भित्रिएका डिजेलमा तल्लो प्यारामिटर भन्दा तल घनत्व रहेको पाइएको थियो । मिसावट भएका इन्धनको इन्धनको मूल्य एक करोड ४० लाख रुपैयाँ बराबरको छ ।

 

सम्बन्धित खबरहरु