अर्घाखाँची । लुम्बिनी प्रदेश सरकारका मन्त्री चेतनारायण आचार्यको घरमा चोरी भएको छ ।
सन्धिखर्कको हटारीनेटास्थित उहाँको निजी निवासमा गए राति चोरी भएको प्रहरीले जनाएको छ ।
लुम्बिनी प्रदेश सरकारका खानेपानी, ग्रामीण तथा सहरी विकासमन्त्री आचार्यको परिवार घरमा नभएको मौका छोपी चोरी भएको प्रहरी नायब उपरीक्षक मुकुन्द रिजालले बताउनुभयो । घरका सबै कोठाको ताल्चा फुटाएर चोरी भएको छ ।
के–कति चोरी भयो भन्नेबारे मन्त्री आएपछि यकिन हुने भन्दै उहाँले आफूहरूले यसमा गम्भीर अनुसन्धान गरिरहेको बताउनुभयो । ‘के–कति चोरी भयो भन्ने विवरण माननीयज्यू आएपछि थाहा हुन्छ’, प्रहरी नायव उपरीक्षक रिजालले भन्नुभयो, ‘हामीले अनुसन्धान थालेका छौँ।’
छिमेकीहरूका अनुसार यसअघि पनि आचार्यको घरमा चोरी भएको थियो । त्यसबेला त्यति धेरै क्षति नभए पनि यसपालि सबै ताल्चा फोडेको र सामान लगेको उहाँहरूको भनाइ छ ।
‘डेढ महिनाअघि पनि मन्त्रीज्यूको घरमा चोरी भएको थियो’, छिमेकी शोभाखर पन्थीले भन्नुभयो, ‘यसले वरिपरिका बासिन्दाले असुरक्षित महसुस गरिरहेका छन्।’