काठमाडौं । नेपालले आज नयाँ राष्ट्रपति पाउँनेछ । राष्ट्रपति चयनका लागि अहिले मतदान जारी छ ।

राष्ट्रपतिका लागि ८ दलीय गठबन्धनबाट नेपाली कांग्रेसका रामचन्द्र पौडेल र नेकपा एमालेका उम्मेदवार सुवासचन्द्र नेम्वाङबीच प्रतिस्पर्धा हुँदैछ । राष्ट्रपतिको चुनावमा प्रतिनिधि सभा, राष्ट्रिय सभा र प्रदेश सभाका सदस्यहरुले मतदान गर्नुहुनेछ ।

मत परिणाम आजै साँझ आउँनेछ । राष्ट्रपतिको निर्वाचनमा प्रतिनिधि सभा सदस्य, राष्ट्रिय सभा सदस्य र प्रदेश सभा सदस्यहरु मतदाता हुनेछन् । तर संघीय सांसदहरुले दिएको १ भोट बराबर ७९ र प्रदेश सभा सदस्यले दिएको १ भोटको ४८ मतभार हुनेछ ।

त्यस्तै राष्ट्रपति हुनका लागि ४५ वर्ष उमेर पुगेको र कानूनले योग्य ठहरिएको व्यक्ति हुनुपर्नेछ । प्रदेश सभाका सदस्यको एक जनाले दिएको मत ४८ र प्रतिनिधि सभाका एक जना सदस्यले दिएको ७९ जोड्दै ५० प्रतिशत भन्दा बढी मत ल्याउने व्यक्ति नै राष्ट्रपतिमा विजयी बन्नुहुनेछ ।

राष्ट्रपतिका लागि इच्छुक धेरैले उम्मेदवारी दिन पाइने व्यवस्था छ । यसरी धेरैले उम्मेदवारी दिएको खण्डमा कसैकोपनि पहिलो चरणमा बहुमत नआएर निर्वाचित हुन नसकेको खण्डमा भने दोस्रो चरणमा पहिलो चरणमा पहिलो र दोस्रो बनेका उम्मेदवारहरुबीच मात्रै प्रतिष्पर्धा गराइन्छ ।

पहिलो चरणमा प्रतिष्पर्धा गर्ने पहिलो र दोस्रो बाहेकका अन्य उम्मेदवार भने प्रतिष्पर्धाबाट बाहिरिन्छन् । दोस्रो निर्वाचनको चरणमा पनि कुनै एक उम्मेदवारले ५० प्रतिशत भन्दा बढी मत ल्याउन नसकेको खण्डमा पुनः अर्को पटक मतदान गर्दा सबैभन्दा बढी मत ल्याउने व्यक्ति नै राष्ट्रपतिमा निर्वाचित हुने प्रावधान रहेको छ ।

अहिलेको संसदमा कसको कति मतभार छ ?

राष्ट्रपति निर्वाचनमा कांग्रेससँग सबभन्दा धेरै, १६ हजार २ सय २१ मतभार छ। दोस्रो स्थानमा रहेको एमालेसँग १५ हजार २ सय ३३ मतभार छ।

तेस्रो स्थानमा रहेको माओवादी केन्द्रसँग ७ हजार ६ सय ४९ मत छ। त्यस्तै नेकपा एकीकृत समाजवादी पार्टीसँग २ हजार ५ सय ७४, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सँग २ हजार ४ सय ५० र जनता समाजवादी पार्टी (जसपा) सँग २ हजार १ सय ४५ मतभार छ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग १ हजार ५ सय १ मत छ भने जनमत पार्टीसँग १ हजार २ सय ४२ मतभार छ। अरू साना दलहरूसँग एक हजारभन्दा कम मतभार छ। तर ती मत पनि कतिपय अवस्थामा निर्णायक अवस्थामा छन्।

सम्बन्धित खबरहरु