काठमाडौं । राष्ट्रपति निर्वाचनको मतगणना सुरु भएको छ । संसद् भवन नयाँ बानेश्वरमा केहीबेर अघि मतगणना सुरु भएको राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन अधिकृतको कार्यालयका सहायक मतदान अधिकृत अमृता भण्डारीले जानकारी दिनुभयो ।

राष्ट्रपति चयनका लागि बिहीबार १० बजेदेखि दिउँसो ३ बजेसम्म मतदान भएको थियो । संघीय संसदतर्फ ३ सय १३ र प्रदेशसभातर्फ ५ सय १८ मतदान भएको छ ।

राष्ट्रपतिमा रामचन्द्र पौडैल र सुवासचन्द्र नेम्वाङ उम्मेदवार हुनुहुन्छ । पौडेल कांग्रेसबाट सत्तारुढ गठबन्धनका उम्मेदवार हुनुहुन्छ भने नेम्वाङ एमालेका उम्मेदवार हुनुहुन्छ । मतपरिणम केही समयपछि आइहाल्नेछ ।

राष्ट्रपति चुनावमा ५१ जनाले मतदान गर्नुभएन । संघीय संसद र प्रदेशसभा सदस्य मतदाता रहने निर्वाचनमा राप्रपा र नेपाल मजदुर किसान पार्टीका सांसदहरुले मतदान नगर्नुभएको हो ।

राप्रपाको संघीय संसदमा १४ र प्रदेशसभामा २८ सांसद छन् । त्यस्तै नेपाल मजदुर किसान पार्टीको संघीय संसदमा १ र प्रदेशसभामा ३ जना सदस्य हुनुहुन्छ ।

त्यस्तै संघीय संसदका सदस्यहरु वर्षमान पुन, चन्द्र भण्डारी, लक्ष्मी साह कोइरी, टेकबहादुर गुरुङले पनि मतदान गर्नुभएन । फौजदारी अभियोग लागेका महतो फरार हुनुहुन्छ भने, भ्रष्टाचार मुद्दामा दोषी ठहर हुनुभएका गुरुङ निलम्बित हुनुहुन्छ ।

त्यस्तै पुन र भण्डारी उपचारका क्रममा मुलुक बाहिर हुनुहुन्छ । प्रतिनिधिसभाका २७५ सदस्यमध्ये रवि लामिछाने पदमुक्त हुनुभएको छ जसपाका सहनाज रहमानको निधन भएको थियो । जसपाकी प्रदेशसभा सदस्य बिन्दुकुमारी यादवले पनि बिरामी भएका कारण मतदानमा सहभागी हुनुभएन ।

सम्बन्धित खबरहरु