काठमाडौं । नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेल राष्ट्रपति पदमा निर्वाचित हुनुभएको छ ।

बिहीबार अपराह्न सकिएको मतगणनामा पौडेलले नेकपा (एमाले) का उम्मेदवार सुवासचन्द्र नेम्वाङलाई हराएर राष्ट्रपति निर्वाचित हुनुभएको हो ।

पौडेलले ३३ हजार ८ सय २ मतभार ल्याउनुभएको छ । जसमध्ये संघतर्फ १६ हजार ९ सय ६ र प्रदेशतर्फ १६ हजार ८ सय ९६ मतभार आएको छ।

उहाँका प्रतिस्पर्धी नेम्बाङले १५ हजार ५ सय १८ मतभार प्राप्त गर्नुभयो । राष्ट्रपति चुनावमा संघीय संसद्तर्फ ३१३ सांसद (२४ हजार ७ सय २७ मतभार) ले मतदान गर्नुभएको थियो भने प्रदेशतर्फ ५१८ (२४ हजार ८ सय ६४ मतभार) सांसदले मत दिनुभएको थियो ।

चुनावी प्रक्रियामा सहभागी भएका सांसदहरुको कूल मतभार ४९ हजार ५ सय ९१ थियो । राष्ट्रपति निर्वाचित हुनका लागि २६ हजार ३ सय १५ आवश्यक पर्छ । राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनमा संघीय सांसद र प्रदेश सभा सदस्यहरूको हाल कायम रहेको मतभार ५२ हजार ६ सय २८ थियो ।

मतदानमा अनुपस्थित हुनेमा राप्रपाका १४ जना सांसद रहनुभएको छ । त्यस्तै नेमकिपाका प्रेम सुवाल पनि मतदानमा सहभागी हुनुभएन । त्यसैगरी माओवादी सांसद वर्षमान पुन र कांग्रेस सांसद उपचारका लागि चीन र भारतमा हुनुहुन्छ ।

त्यस्तै एमालेका फरार सांसद लक्ष्मी महतो कोइरी पनि मतदानमा सहभागी हुनुभएन । प्रदेशतर्फ पनि राप्रपाका २८ र नेमकिपाका ३ सांसद मतदानमा सहभागी हुनुभएन । त्यस्तै मधेश प्रदेशकी जसपा सांसद विन्दु यादवपनि अनुस्थित हुनुभयो ।

 

सम्बन्धित खबरहरु