काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउतले उपराष्ट्रपति चयनबाट गठबन्धन टुटेको दावी गर्नुभएको छ ।

उहाँले जनमत पार्टीले उपराष्ट्रपतिमा ममता झालाई उठाउने बताइसक्दा गठबन्धनकै अरु दललेपनि उम्मेदवार बनाउँने भनेपछि गठबन्धन टुटेको उहाँको भनाई छ ।

शनिवार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको १० दलीय बैठकमा दलहरुले आफ्नो आफ्नो दाबी गर्दा बैठक निष्कर्षविहीन भएको र आफ्नो पार्टीले पनि ममता झालाई उपराष्ट्रपतिको उम्मेदवारी दर्ता गराउने बताउनुभएको हो ।

उहाँले उपराष्ट्रपतिको चुनावमा महिला नै उम्मेदवार हुनुपर्ने खालको निर्णय निर्वाचन आयोगले गरेको र संविधानको मर्म पनि त्यही रहेको भन्दै जनमत पार्टीले ममता झालाई उपराष्ट्रपतिमा मनोनयन दर्ता गर्ने बताउनु भयो । उहाँले जनता समाजवादी पार्टी, नेपालले पनि दुई जनाको उम्मेदवारी दर्ता गर्ने अवस्था देखिएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘आज १० दलको बैठक थियो । उपराष्ट्रपतिको उम्मेदवारको बारेमा छलफल भयो । उपराष्ट्रपतिको चुनावमा महिला नै उम्मेदवार हुनुपर्ने खालको निर्णय निर्वाचन आयोगले गरेको छ । हामीले पनि महिला नै सकेसम्म उठाउनुपर्ने, त्यसमा रिस्क नलिने भन्नेकुरा भयो ।

अध्यक्ष राउतले गठबन्धनबाट आज तीन जनाको उम्मेदवारी पर्ने अवस्था देखिए पनि आइतवारसम्म सर्वसम्मतिले एक जना मात्रै उम्मेदवारी हुनपनि सक्ने उहाँको भनाई छ ।

आज जसपाले पनि सम्भवतः दर्ता गर्नेछ । भोलिसम्ममा निष्कर्ष निस्केर एउटा मात्रै उम्मेदवार कायम हुने देखिन्छ । गठबन्धनबाट ३ जना उम्मेदवार हुने सम्भावना देखिएको छ । जसपाबाट दुई जना उम्मेदवार बनाउने अवस्था देखिएको छ ’ उहाँले भन्नुभयो ।

सम्बन्धित खबरहरु