काठमाडौं । नेकपा एमालेबाट उपराष्ट्रपतिमा अष्टलक्ष्मी शाक्यले उम्मेदवारी दर्ता गराउनुभएको छ ।

उपाध्यक्ष समेत रहनुभएकी शाक्यले एमालेका नेताहरुसहित नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा पुगेर उम्मेदवारी दर्ता गराउनुभएको हो ।

शाक्यको प्रस्तावकमा अध्यक्ष केपी शर्मा ओली, सुवास नेम्वाङ, छविलाल विश्वकर्मा, गोकर्ण विष्ट, रघुवीर महासेठ र समर्थकमा कृष्ण गोपाल श्रेष्ठ, महेश बर्तौला, तुलसा दाहाल, भगवती न्यौपाने र यसोदा रिजाल रहनुभएको छ ।

शाक्यले उम्मेदवारी दर्ता गरेर बाहिरिँदै गर्दा आफू एक्लै छु भन्ने नलागेको बताउनुभयो ।

उहाँले लोकतन्त्रलाई बलियो बनाउनका लागि सबैले सोच्नुपर्ने दिन रहेकाले आफू सबैको साथमा रहेको बताउनुभयो । उहाँले भन्नुभयो, अहिले लोकतन्त्र नै धरापमा छ । यसलाई बलियो बनाउँनका लागि सबै एकठाउँ हुनुपर्छ । यसका लागि सबैले सोच्नुपर्छ ।

‘राजनीति गर्नेले डर मानेर हुन्छ ? लोकतन्त्रमा स्वस्थ प्रतिस्पर्धा गर्ने हो । एमाले एक्लै छ भन्ने लागेको छैन । लोकतन्त्रलाई बलियो बनाउने हो भने सबैले सोच्न जरुरी छ,’ उम्मेदवारी दर्ता गराएपछि शाक्यले भन्नुभयो ।

शाक्यविरुद्ध सत्ता गठबन्धनमा आबद्ध दलमध्ये जनमत पार्टीकी ममता झाले उम्मेदवारी दर्ता गराउनुभएको छ । जसपाबाट पनि २ नेताले उपराष्ट्रपतिमा उम्मेदवारी गराउनुभएको छ । जसपाका एक उम्मेदवार रामसहाय यादवलाई गठबन्धनको साथ रहेको देखिन्छ ।

सम्बन्धित खबरहरु