काठमाडौं । वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल आजबाट सकिंदै छ ।

नयाँ राष्ट्रपतिमा नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेल फागुन २५ गते निर्वाचित भइसक्नुभएको छ । त्यसैले भण्डारीले शितलनिवास छाड्नुपर्ने भएको हो ।

उहाँ शितलनिवासबाट बुढानीलकण्ठ–२ चपलीस्थित निजी निवासमा सर्ने उहाँको सचिवालयले जनाएको छ । उहाँ २९ गते निजी निवासमा सर्ने तयारीमा हुनुहुन्छ ।

भण्डारी २०७२ कात्तिक ११ गते राष्ट्रपति पदमा पहिलोपटक निर्वाचित हुनुभएको थियो । त्यसपछि दोस्रो कार्यकालका लागि २०७४ साल फागुन २९ गते उहाँ निर्वाचित हुनुभयो ।

नयाँ राष्ट्रपतिमा निर्वाचित रामचन्द्र पौडेलको शपथ ग्रहण समारोह सोमबार (फागुन २९) गते हुँदैछ । प्रधानन्यायाधीश पद हाल रिक्त रहेकाले कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले पौडेललाई शपथ खुवाउनुहुनेछ । शपथ लिए लगत्तै नयाँ राष्ट्रपतिमा निर्वाचित रामचन्द्र पौडेल शितल निवास नै बस्नुहुनेछ ।

त्यही दिन नयाँ राष्ट्रपतिमा निर्वाचित रामचन्द्र पौडेलले निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीलाई विदाइ गर्नुहुनेछ । राष्ट्रपति विद्यादेवी भण्डारीले रामचन्द्र पौडेललाई नयाँ राष्ट्रपतिको रुपमा स्वागत गर्नुहुनेछ । यो एकै दिन हुने प्रक्रिया हो ।

नयाँ राष्ट्र प्रमुखले सपथ नलिएसम्म निवर्तमान भइसकेपनि बहालवाला राष्ट्रपतिले निवास र कार्यालय छोड्न नमिल्ने संस्कार बनिसकेको छ । यो मुलुक राष्ट्र प्रमुख बिहिन हुनसक्दैन भन्ने विश्वभरीकै परिकल्पना हो ।

 

सम्बन्धित खबरहरु