काठमाडौं । आइसिसी विश्वकप लिग–२ अन्तर्गत युएईविरुद्धको खेलमा नेपालका कप्तान रोहित पौडेलले कीर्तिमानी अर्धशतक बनाएका छन् ।

उनको कीर्तिमानी अर्धशतकको सहयोगले नेपालले युएईलाई २४९ रनको लक्ष्य दिएको छ। कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपाल ४ बल खेल्न बाँकी छँदा २४८ रनमा अलआउट भयो।

नेपालका लागि कप्तान रोहितकुमार पौडेलले सर्वाधिक ७७ रन जोडे। उनले ११२ बलमा ९ चौका प्रहार गरे। लगातार विकेट गुमेको स्थितिमा मैदान प्रवेश गरेका रोहितले भीम सार्कीसँग चौथो विकेटका लागि ५४ रन र आरिफ शेखसँग पाँचौ विकेटका लागि ८६ रनको साझेदारी गरेका थिए। जसका कारण नेपालको इनिङ उकासिएको थियो। अप्ठेरो अवस्थामा पुगिसकेको नेपाललाई पौडेलले आशा लिदाए ।

आज अर्धशतक प्रहार गरेसँगै रोहितले नेपालका लागि सर्वाधिक अर्धशतक प्रहार गर्ने खेलाडीको कीर्तिमान कायम गरेका छन् । रोहितले नेपालका लागि एक शतकसहित आठ अर्धशतक प्रहार गरेका छ्न्।

त्यसअघि नेपालका ओपनरद्वय आसिफ शेख शून्य र कुशल भुर्तेल ८ रनमा आउट भएका थिए। नेपालले पाँच ओभर चल्दै गर्दा दुवै ओपनरलाई गुमाएको थियो। ७.१ ओभरमा २२ रनको स्थितिमा तेस्रो विकेट गुमाउने क्रममा नेपालका कुशल मल्ल ९ रनमा पेभिलियन फर्के।

सुरूआतमा दुवै इन्डबाट स्पिनरलाई बलिङ गराएको युएईका आयान खान र आर्यन लक्रा प्रभावशाली देखिए। आर्यनले आसिफलाई बोल्ड गर्दा आयानले भुर्तेललाई एलबिडब्लूको धरापमा पारेका थिए।

तीन विकेट गएको अवस्थामा धैर्यपूर्वक ब्याटिङ गरेका भीम सार्कीले २९ रन जोडे। उनले ३७ बलमा ४ चौका प्रहार गरे। आरिफ शेखले जोडेको ४३ रन पनि नेपालका लागि महत्वपूर्ण सावित भयो। उनले ५२ बलमा ५ चौका हिर्काए।

गुल्शन झाले ३७ रन जोडे। उनले ३२ बलमा १ चौका र ३ छक्का प्रहार गरे। दिपेन्द्रसिंह ऐरीले आक्रामक ब्याटिङ गर्ने क्रममा १९ बलमा ३४ रन बनाएर आउट भए। उनले ३ चौका र २ छक्का प्रहार गरे। सन्दीप लामिछाने र सोमपाल कामी समान २–२ रनमा आउट भए।

बलिङमा युएईका आयान खान, जहूर खान, जावर फरिद र रोहान मुस्ताफाले २–२ विकेट लिए। आजको खेल जिते नेपालको एकदिवसीय मान्यता जोगिनेछ भने लिग–२ को शीर्ष तीनमा रहने सम्भावना जीवित नै हुनेछ।

नेपाल, युएई र पिएनजीबीचको यो सिरिज आइसिसी विश्वकप लिग–२ को अन्तिम सिरिज हो। सात टिमबीचको लिग–२ को अन्तिम सिरिजबाट विश्वकप छनोट, एकदिवसीय मान्यता र विश्वकप क्वालिफायर प्लेअफमा पुग्ने टिमको टुंगो लाग्नेछ।

यो सिरिज नेपालका लागि दुई अर्थमा महत्वपूर्ण सावित हुनेछ। आजसहित तीनै खेलमा हात पारे नेपालले लिग–२ को शीर्ष तीनमा स्थान बनाउँदै १० देशबीच प्रतिस्पर्धा हुने विश्वकप छनोटमा प्रतिस्पर्धा गर्न पाउनेछ। सिरिजमा नेपालले अब फागुन २९ मा पिएनजी र चैत २ मा युएईसँग खेल्नेछ।

लिग–२ को शीर्ष तीन टिम विश्वकप छनोटमा पुग्नेछन्। पुछारका चार टिमले क्वालिफायर प्लेअफ खेल्नु पर्नेछ। यस्तै शीर्ष पाँच टिमको एकदिवसीय मान्यता जोगिनेछ। लिग–२ मा च्याम्पियन बनेको स्कटल्यान्डले सबै ३६ खेलबाट ५० अंक जोड्दा दोस्रो बनेको ओमानको ४४ अंक छ। स्कटल्यान्ड र ओमान विश्वकप छनोट पुगिसकेका छन्।

तेस्रो स्थानको नामिबियाको ३६ खेलबाट ३९ अंक छ भने चौथो स्थानको अमेरिकाको समान खेलबाट ३५ अंक छ। पाँचौ स्थानको नेपालले ३३ खेलबाट ३४ अंक छ। युएई ३३ खेलबाट ३१ अंक जोड्दै छैटौं स्थानमा छ। ‍पिएनजीको ३४ खेलबाट ११ अंक छ।

 

सम्बन्धित खबरहरु