काठमाडौं । आइसिसी विश्वकप लिग–२ अन्तर्गत युएईविरुद्धको खेलमा नेपाली टोलीलाई नेपाली दर्शकहरुले उत्कृष्ट साथ दिइरहेका छन् ।

घरेलु मैदानमा नेपाली दर्शकको हुटिङले नेपाली टोली उत्साहित बनेको छ भने, युएई हतोत्साहित बनेको छ । २४९ रनको लक्ष्य दिएको नेपाललाई पाखा लगाउन युएई मैदानमा संघर्ष गरिरहेको छ ।

कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदान वरिपरी दर्शकले भरिएको छ । अहिले बलिङ गरिरहेको नेपाली क्रिकेटरले हरेक पटक बलिङ गर्दा नेपाली दर्शकले नेपाल ! नेपाल !! भनिरहेका हुन्छन् ।

खेल सुरु भएको केही समयमा नै युएईका चार विकेट पतन भइसकेका छन् । ललित राजवंशीले नेपाललाई पहिलो ओभरमा नै सफलता दिलाएका छन् । ४ ओभरमा फेरि दोस्रो विकेट लिएका छन् ।

ललितले पहिलो ओभरको ५ बलमा नै पहिलो विकेट लिएका हुन् । यो ओभरमा युएईले कुनै रन जोड्न सकेन ।

ललितले यूएईका भृत्य अरविन्दलाई बोल्डआउट गरेका हुन् । यूएईका भृत्य अरविन्द र आसिफ खानले ओपनिङ गरेका छन् ।

२.४ ओभरमा नेपालले दोस्रो सफलता हासिल गरेको छ । दीपेन्द्र सिंह ऐरीले आर्यन लाक्रालाई बोल्डआउट गरेका छन् । दीपेन्द्रको बलमा बोल्डआउट हुनुअघि आर्यनले रन बनाउन सकेनन् ।

४.४ ओभरमा यूएईले तेस्रो विकेट गुमाएको छ । ललित राजवंशीको बलमा मोहम्मद वासिम क्याचआउट भएका छन् । उनले १ रनमात्र बनाए । युएईले मात्र ८ रन बनाउँदा तीन विकेट गुमाएको छ ।

५.१ ओभरमा यूएईले चौथो विकेट गुमाएको छ । ओपनर आसिफ खान ६ रन बनाउँदा सोमपाल कामीको बलमा कट विहाइन्ड भएका छन् ।

आजको खेल जिते नेपालको एकदिवसीय मान्यता जोगिनेछ भने लिग–२ को शीर्ष तीनमा रहने सम्भावना जीवित नै हुनेछ।

नेपाल, युएई र पिएनजीबीचको यो सिरिज आइसिसी विश्वकप लिग–२ को अन्तिम सिरिज हो। सात टिमबीचको लिग–२ को अन्तिम सिरिजबाट विश्वकप छनोट, एकदिवसीय मान्यता र विश्वकप क्वालिफायर प्लेअफमा पुग्ने टिमको टुंगो लाग्नेछ।

यो सिरिज नेपालका लागि दुई अर्थमा महत्वपूर्ण सावित हुनेछ। आजसहित तीनै खेलमा हात पारे नेपालले लिग–२ को शीर्ष तीनमा स्थान बनाउँदै १० देशबीच प्रतिस्पर्धा हुने विश्वकप छनोटमा प्रतिस्पर्धा गर्न पाउनेछ। सिरिजमा नेपालले अब फागुन २९ मा पिएनजी र चैत २ मा युएईसँग खेल्नेछ।

लिग–२ को शीर्ष तीन टिम विश्वकप छनोटमा पुग्नेछन्। पुछारका चार टिमले क्वालिफायर प्लेअफ खेल्नु पर्नेछ। यस्तै शीर्ष पाँच टिमको एकदिवसीय मान्यता जोगिनेछ। लिग–२ मा च्याम्पियन बनेको स्कटल्यान्डले सबै ३६ खेलबाट ५० अंक जोड्दा दोस्रो बनेको ओमानको ४४ अंक छ। स्कटल्यान्ड र ओमान विश्वकप छनोट पुगिसकेका छन्।

तेस्रो स्थानको नामिबियाको ३६ खेलबाट ३९ अंक छ भने चौथो स्थानको अमेरिकाको समान खेलबाट ३५ अंक छ। पाँचौ स्थानको नेपालले ३३ खेलबाट ३४ अंक छ। युएई ३३ खेलबाट ३१ अंक जोड्दै छैटौं स्थानमा छ। ‍पिएनजीको ३४ खेलबाट ११ अंक छ।

 

सम्बन्धित खबरहरु