डा. अनिलकुमार भट्ट, काठमाडौं । मानिसलाई अनेक घटनाबाट चोट लागेर वा विभिन्न कारणले आउने घाउहरुबाट शरीरमा नराम्ररी खत बसेको हुन्छ ।

यसले उनीहरुको स्वरुप नै बदल्छ । खासगरी हात–खुट्टा, अनुहारमा खत बस्यो भने रुप नै बदलिन्छ । यस्तो स्थितिमा कसरी खत मेट्न सकिन्छ भन्ने धेरैलाई लाग्न सक्छ ।

के खत मेट्न सकिन्छ ?

घाउको दाग कस्तो स्थितिमा छ ? कति गहिरो, कति ठूलो, कति पुरानो हो ? यसै कुरालाई आधार बनाएर खत मेट्न सकिने नसकिने टुंगो गर्न सकिन्छ विज्ञहरु बचाउँछन् । त्यसैगरी खत कसलाई भएको हो ? वयस्कलाई, बुढापाकालाई, बालबच्चालाई ? किनभने सानो बालबच्चाको शरीरमा कुनै घाउको खत बसे त्यो मेटिन सजिलो हुन्छ । जति जति उमेर छिप्पिंदै जान्छ, घाउ खत मेट्न पनि गाह्रो हुन्छ ।

त्यसबाहेक यदि कसैको घाउको खत मेटिएको छैन भने क्रिम वा उपचार विधिबाट पनि त्यसको समाधान खोज्न सकिन्छ । यदि छालाको माथिल्लो सतह वा बाहिरी भागमा मात्र खत छ भने त्यस्तो मेटाउन सहज हुन्छ ।

दाग बस्ने सम्भावना बढी हुने ठाउँ

अनुहार, हात, खुट्टामा घाउचोटको खत बढी हुन सक्छ । शरीरमा जुन ठाउँमा छाला पातलो हुन्छ, त्यसमा दाग बस्ने सम्भावना बढी हुन्छ ।

के छ उपचार ?

चोटको स्थितिअनुसार त्यसको खत मेट्ने विधि फरक–फरक हुन्छ । कुनै क्रिम मात्र लगाएर पनि निको हुन्छ । खासगरी छालाको माथिल्लो सतहमा भएको चोट मेट्न क्रिमले काम गर्न सक्छ ।

यदि गहिरो वा मांसपेशीसम्म चोट लागेर खत बसेको छ भने त्यसमा लेजरको माध्यमबाट उपचार गर्नुपर्ने हुन सक्छ । सामान्यतया कार्बनडाइअक्साइड लेजरबाट दाग हटाइन्छ ।

आगो वा तातोपानी पोलेर बसेको दाग

आगोले पोलेको वा तातो पानीले पोखिएर बसेको खत भने क्रिम लगाएर निको हुँदैन । यसको लागि सामान्यतया कार्बनडाइअक्साइड लेजर विधिबाट नै उपचार गर्नुपर्ने हुन्छ । यस्तो उपचार पनि सानोतिनो दागमा मात्र काम लाग्छ ।

यदि पोलेको भाग ठूलो छ भने त्यसमा प्लास्टिक सर्जरी नै गर्नुपर्ने हुन सक्छ । प्लास्टिक सर्जरीमा जलेको भागको दागमा अन्य ठाउँको छालाको भाग ल्याएर टाँसिन्छ ।

अनुहारमा बसेको दाग हटाउने कसरी ?

डन्डीफोर लगायतले पनि अनुहारमा दाग बस्ने हुन्छ । खासगरी किशोरावस्थामा यस्तो समस्या धेरै देखिन्छ । भर्खर बसेको दाग हो र बाहिरी छालामा मात्र छ भने सहजै मेटाउन सकिन्छ । डन्डीफोर वा अन्य कालो दाग बसेको भागलाई क्रिमले नै मेटाउन सकिन्छ ।

यदि पुरानो दाग छ भने पहिलो चरणमा तीनदेखि ६ महिनासम्म क्रिम लगाउन दिइन्छ । त्यसपछि पनि दाग हटेन भने इन्जेक्सन वा लेजर विधि प्रयोग गर्नुपर्ने हुन्छ । यसबाट पनि शतप्रतिशत हट्छ भन्ने हुँदैन । कुनै कुनै गहिरो घाउको दाग ७० देखि ९० प्रतिशत मात्र मेटिन्छ ।

(डा. भट्ट छाला तथा सौन्दर्य विशेषज्ञ हुनुहुन्छ । उहाँ डर्म डाइनामिक्स स्किन हेयर एण्ड लेजर क्लिनिक, कुमारीपाटी, ललितपुरमा कार्यरत हुनुहुन्छ )

 

सम्बन्धित खबरहरु