काठमाडौं । वर्षमा ६ दिन सार्वजनिक बिदा थप गरिएको छ । यो बिदा दिन पाउने अधिकार प्रदेश सरकारहरुलाई थियो ।

सोही अधिकार अनुसार कोशी प्रदेशले आफूले दिने ६ वटा बिदा तय गरेको छ।

संघीय सरकारले दिने बाहेकका बिदाका दिन प्रदेश मन्त्रिपरिषदले तोकेको हो। बुधबारको मन्त्रिपरिषद बैठकले ६ वटा अतिरिक्त बिदाका दिन तय गरेर राजपत्रमा प्रकाशित गर्ने निर्णय गरेको सरकारका प्रवक्ता भक्तिप्रसाद सिटौलाले जानकारी दिनुभयो ।

उहाँकाअनुसार प्रदेशले साउन २४ गते विश्व आदिवासी जनजाति दिवस, भदौ २१ गते राधाकृष्ण रथयात्रामा प्रदेशभर बिदा दिने सरकारको निर्णय छ।

यसैगरी असोज २ गते ऋषिपञ्चमीको दिन प्रदेशभरका महिलालाई मात्रै बिदा दिने निर्णय हुँदा कात्तिक २५ गते फाल्गुनन्द जयन्तीको दिन पनि प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय भएको छ।

मंसिर ४ गते छठ पर्वको समापनको दिन पनि बिदा दिने सरकारले निर्णय गरेको प्रवक्ता तथा कृषि मन्त्री सिटौलाले जानकारी दिनुभयो ।

केन्द्र सरकारले नदिएको कुनै एक दिन मुस्लिम धर्माबलम्बीलाई लक्षित गर्दै इद पर्वका अवसरमा प्रदेशभरका मुस्लिमहरुलाई पनि एक दिन बिदा दिने प्रदेश सरकारले निर्णय गरेको छ।

मन्त्रिपरिषद् बैठकले स्थानीय तहका कर्मचारीको सेवा शर्त व्यवस्थित गरी स्थानीय सरकारको काम काज प्रभावकारी बनाउने विधेयक प्रदेशसभामा प्रस्तुत गर्ने निर्णय पनि गरेको छ।

प्रदेश सभाबाट कोशी प्रदेशको नामाकरण गरिएसँगै कानूनहरुमा यसअघि रहँदै आएको प्रदेश १ भन्ने शब्दलाई संशोधनका लागि संशोधन विधेयक प्रदेशसभामा लैजाने र विपन्न वर्गलाई कडा रोगको लागि उपचार सहायता उपलब्ध गराउने सम्बन्धमा आर्थिक सहायता सम्बन्धी कार्यविधि २०७९ लाई पनि स्वीकृत गरेको छ ।

 

सम्बन्धित खबरहरु